काठमाडौं- शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा रहेको गोकर्णेश्वर नगरपालिका वडा नं १ को चिलाउनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर गरियो।
मृगेन्द्र सम्झना चिकित्सा गुठी स्वास्थ्य सेवा शान्ति मन्दिर सुन्दरीजलको आयोजनामा आज भएको शिविरमा २०० जनाको स्वास्थ्य जाँच भयो । जाँच गरिएकामध्ये ११२ जनामा स्वास्थ्य समस्या देखिएपछि निःशुल्क औषधि वितरण गरिएको मन्दिरका कोषाध्यक्ष सुशील सिम्खडाले जानकारी दिए।
शिविरका लागि लाजिम्पाटस्थित बिएनएमटी नामक संस्थाले औषधि सहयोग गरेको थियो । शिविरमा डा प्रकाश पोखरेल र डा लक्ष्मण खड्का नेतृत्वको समूहले बिरामीको जाँच गरेको थियो।
गाउँमै स्वास्थ्य जाँचसँगै निःशुल्क औषधि पाएपछि स्थानीयवासी सानुकान्छी तामाङले सामान्य उपचारका लागि पनि शहर जानु नपर्दा खुशी लागेको बताइन् ।
नगरपालिकाको वडा नं १ का अध्यक्ष राम मानन्धर राजधानीमै भए पनि पिछडिएको तामाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर गरेर शान्ति मन्दिरले उदाहरणीय काम गरेको प्रतिक्रिया दिए। रासस