गोरखा- गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ।
५० वर्षीया पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको हो। दुई सयभन्दा बढी मानिस बिरामी छन्।
गाउँमा घरघरै बिरामी भएकाले उपचार गर्न स्वास्थ्य संस्था पुग्न पनि नसकिएको लापुको शान्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबल गुरुङले बताए। 'गाउँको स्वास्थ्य संस्थामा एक जना मात्रै स्वास्थ्यकर्मी हुनुहुन्छ। बिरामी धेरै भएकाले उपचार गर्न भ्याइनभ्याई छ,' उनले भने।
स्वास्थ्य संस्थामा पर्याप्त औषधि नभएको गाउँलेको गुनासो छ। गाउँमा औषधि र थप स्वास्थ्यकर्मी पठाउन जिल्लामा अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको गुरुङले बताए।
धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप फैलिएको गाउँमा औषधि र स्वास्थ्यकर्मी जिल्लाबाट माग गरिएको बताएका छन्।रासस