रुजेस शाहीले पछिल्लो ६ महिना आम नेपालीले खाने खाना खाएनन्। उनले दाल, भात र तरकारी मात्र होइन नुन, तेल र चिनी पनि खाएनन्।
नेपाली खाना छाडेका रुजेशले शरीर बनाउन केवल डाइटमात्र खाए। उनी दिनहुँ ३० वटा अन्डा खान्थे। अन्डा खादा पहेँलो भाग भने खादैन थिए। कुखुराको मासु पनि उनको दैनिक आहारा थियो। कुखुराको मासुको छातीको भाग मात्र उनको रोजाइमा थियो। बोसोरहित मासु उसिनेर मात्र खाइन्थ्यो।
मासु र अन्डाबाहेक रुजेसले कुरिलो पनि धेरै खाए। सबै प्रकारका फलफुल पनि उनको खानाको मेनुमा थियो। रुजेसले दैनिक ५ देखि ६ लिटर पानी खान्थे। यो हिसाबले रुजेसको खानामा मात्र दैनिक २५ सय रुपैयाँ खर्च हुन्थ्यो। पछिल्लो ६ महिनाको हिसाब गर्दा रुजेसले डाइटमा मात्र ४ लाख ५० हजार खर्च गरेछन्।
खानाको मेनुसँगै उनले दैनिक जीम सेसनमा ध्यान दिए। कालीमाटीमा रहेको डिभाइन फिजिकल फिटनेस सेन्टरमा उनले कडा मेहनत गरे। खाना र व्यायामको राम्रो तालमेलले रुजेशको ’ज्यान’ बन्यो।
६ महिनाको खाना र व्यायामको अनुशाषन कायम गर्नुको उद्देश्य एक मात्र थियो, विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालको झन्डा फहराउने।
रुजेसहितको नेपाली शारीरिक सुगठन टिम नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन असोज दोस्रो साता मंगोलियाको उलनवटर पुगेको थियो। त्यहाँ पुगेपछि रुजेस अलि नर्भस भए। ‘यसपटक आफ्नो तौलसमूह परिवर्तन गरेर प्रतिस्पर्धा गर्दै थिएँ,’ ४० वर्षीय रुजेसले सुनाए। अघिल्लो च्याम्पियनसिपमा ५५ केजीमा उत्रिँएका उनी यसपटक ६० केजीमा प्रतिस्पर्धा गर्दै थिए।
प्रतिस्पर्धामा उत्र्नु २४ घन्टाअघि अन्य प्रतिस्पर्धी जस्तै रुजेसले खाना मात्र होइन पानी पनि पिएनन्। कर्बोहाइड्रेडको कमीले शरीरका मांसपेशी सुख्खा भइसकेको थियो। हिम्मत नहारी उनी २० असोजमा प्रतिस्पर्धामा उत्रिँए। आफ्ना शरीरका ७ पोज निर्णायकलाई देखाए। पोज निर्णायकलाई देखाएर निस्किएपछि रुजेसको शरीर हल्का भयो। तर नजिताको अनिश्चितताले भने मन भारी बनिरहयो।
विभिन्न राष्ट्रका ११ खेलाडी सहभागी स्पर्धामा रुजेस तेस्रो भए। मन हुलुका पारे। प्रतिस्पर्धामा म्यानमारका खेलाडी प्रथम र मलेसियाका खेलाडी दोस्रो भए। शरीरिक सुगठनमा इरान, भारत र भियतनामका खेलाडीहरु विश्वका उत्कृष्ट खेलाडीमा पर्छन्। यसपटक रुजेसले तीन वटै देशका खेलाडीलाई पछि पारेर पदक जिते।
‘पदक जितेपछि आफ्नो मेहेनत अनि परिवार सम्झिए। जब मेडलसँगै देशको झन्डा काँधमा ओडियो। मन ढक्क फुल्यो। लाग्यो– मैले आफ्नो लागि होइन, देशको लागि खेलेको रहेछु,’ उनी भावुक भए।
रुजेस २०१५ मा थाइल्यान्डको बैंककमा भएको सातौं संस्करणका रजत विजेता हुन्। त्यत्ति बेला उनले ५५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए। नेपालका लागि विश्व च्याम्पियनसिपमा रजत जित्ने उनी पहिलो खेलाडी हुन्।
नेपाललाई अन्तर्राष्ट्रिय उपलब्धि दिलाएका रुजेश ब्यवसायिक रुपमा शारिरीक सुगठनमा लागेको धेरै भएको छैन। २०६६ सालतिरको कुरा हो । रुजेस सहकारी संस्थामा आबद्ध थिए। उनी हेर्दा हस्पपुस्ट थिए। मिलेको शरीर भएकाले उनलाई कार्यालयकी एक महिला साथीले जिम गरेर शारिरीक सुगठनका प्रतिस्पर्धमा भाग लिन सुझाव दिइन।
रुजेस बाल्यकाल देखि नै जिम गर्थे। जरुरी काम परेका दिनबाहेक रुजेशको बिहानको समय जीम सेसनमा बित्ने गरेको थियो। उमेरले ३० नाघ्दासम्म उनले आफ्नो शरीरलाई नियन्त्रणमा राखेका थिए। अफिसकी बहिनीले धेरै कर गर्न थालेपछि उनले उत्तरढोकामा रहेको एक जिमखानामा प्रशिक्षण लिन थाले। उनको पहिलो प्रशिक्षक अर्जुन वर्णवल थिए। नाताले भाइ भएपनि अर्जुनलाई पहिलो गुरु मानेर उनी शारीरिक सुगठनमा होमिए।
वुल्स मेन्स च्याम्पियन्सिप उनले प्रतिस्पर्धा गरेको पहिलो प्रतिस्पर्धा हो। पहिलो सहभागितामै उनले रजत जितेका थिए। रुजेसले नेपालका प्रतिष्ठित प्रतियोगिताहरु धर्मश्री, मिस्टर हिमालयन र मिस्टर नेपालमा आफ्नो तौल समूहमा स्वर्ण जितिसकेका छन्।
देख्दा लोभ लाग्ने भएपनि शारिरीक सुगठनको खेलाडी बन्न गाह्रो भएको रुजेसको बुझाई छ। उनी डाईटका लागि धेरै पैसा खर्च हुनेदेखि व्यायामको अनुशासनमा ३ सय ६५ दिन जुट्नु पर्ने कारण यो प्रक्रिया सहज नभएको बताउँछन्।
‘शारिरीक सुगठनमै लागेर बाच्न सक्नेस्थिति छैन। खल्तिको पैसा खर्च गर्नुपर्ने बाध्यता छ,’ रुजेसले भने, ‘मलाइ घर परिवारबाट भरोसा छ। जीम जाने र डाइट खाने पैसा मेरो आफ्नै र परिवारको सहयोग हो।’
कतिपय खेलाडी महंगो भएका कारण शारिरीक सुगठन छोड्न विवश छन्। तर पनि रुजेस शारिरीक सुगठनमै किन लागिरहेका छन् त? यसको सोझो उत्तर उनी दिन्छन्, ‘पैसाभन्दा पनि देश र आफ्नो नामको लागि शारीरिक सुगठनमा लागेको हुँ।’
रुजेसका बुबा ज्ञानरत्न भारोत्तोलनका पुराना खेलाडी थिए । २०३८ सालमा राष्ट्रिय प्रतियोगिता खेलेका ज्ञानरत्नले घरमा जीमका लागि चाहिने सामान जोडेका थिए। बाल्यकालमा डमबेलसँगै लडिबुडी गर्दै हुर्किएका रुजेशले ३० बर्षसम्म शारिरिक सुगठनमा लाग्ने कल्पना गरेका थिएनन्।
‘मेरो रगतमै भारत्तोलन रहेछ। कति दिन यसबाट टाढा बस्न सक्थे?,’उनी भन्छन्, ‘मेरो लागि पैसा गौण हो। शारिरीक सुगठनका लागि जति डाइट खानु परे पनि, जति दिन भोकै बस्नु परेपनि तयार छु।’
उनको यही सम्पर्णका कारण नेपाली शारीरिक सुगठनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पछिल्लो समय सफलता हात पारेको छ। बधाई छ, रुजेसलाई।