बेनी, म्याग्दी- बेनीमा दुई दिनसम्म सञ्चालित कृत्रिम हातखुट्टासम्बन्धी शिविरमा ३५ जनाले सेवा लिएका छन्।
सडक दुर्घटना, विभिन्न रोगका कारण हातखुट्टा गुमाएकाको दैनिकी, आवश्यकता र प्रयोगमा देखिएको समस्यालाई केन्द्रित गरी सञ्चालन गरिएको शिविरमा म्याग्दी, बागलुङ, पर्वतका सेवाग्राही लाभान्वित भएका छन्।
बेलायतमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था (मोना) यूके, एनआरएनए यूके र बेनी अस्पतालको आयोजनामा सोमबार र मंगलबार आयोजित शिविरमा कलिला बालबालिकादेखि वृद्धवृद्धाले सेवा लिएको बेनी अस्पतालका क्लिनिकल प्रमुख डा धीरेन मल्लले बताए।
बेनी अस्पतालमा आयोजित शिविरमा दुई दशकदेखि एउटै कृत्रिम खुट्टाको प्रयोग गरेका, आर्थिक अवस्था कमजोर भएर कृत्रिम खुट्टासमेत प्रयोग नगरेका बिरामी आएका थिए।
अफ्रिकी मुलुक हाइटीमा कृत्रिम हातखुट्टा उत्पादन तथा जडानसम्बन्धी प्रोजेक्टमा कार्यरत एलेक्स, फिजियोथेरापिष्ट एवं अर्थोपेडिक विशेषज्ञ स्टेफीलगायत पाँचजनाको टोलीले हातखुट्टामा देखिएको समस्या, प्रयोग गर्ने तरिकाका साथै नापजाँच गरेका थिए ।
शिविरमा कृत्रिम खुट्टाको प्रयोगमा आवश्यक पर्ने अभ्याससमेत गराइएको थियो । रासस