बाबियाचौर, म्याग्दी- म्याग्दीका स्वास्थ्य संस्थाको भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा समस्या भएको छ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण निर्धारित समयमा भवन नबन्दा उपचार सेवा प्रवाहमा समस्या भएको हो । अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा १८ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७१ मा शुरु भएको स्वास्थ्य चौकीको भवन निर्माण कार्य अझै पूरा हुन सकेको छैन।
एक वर्षअघि नै सकिनुपर्ने भवन अझै पूरा नहुँदा अलपत्र पर्नुका साथै सेवा प्रवाहमा असर परेको राम्चे स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राजु पुनले बताए। हाल वडा कार्यालयसँगैको दुईवटा कोठाबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ ।
बिरामीको स्वास्थ्य परीक्षण, परामर्श, सुरक्षित प्रसूति, औषधि भण्डारणजस्ता कक्षको अभाव हुँदा समस्या भएको हो । सो भवन निर्माणको जिम्मा लिएको भगवती निर्माण सेवाका सञ्चालक गोपाल भट्टचनले भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण ढिलाइ भएको बताए।
हिउँद र बर्खामा प्रतिकूल मौसमका कारण काम गर्न नसक्नु तथा दुर्गम भएकाले बालुवा, सिमेन्ट, रड, ढुंगाजस्ता निर्माण सामग्री ढुवानी गर्न समस्या भएको उहाँको भनाइ छ । राम्चेको मात्र नभएर गत असारमै सकिनुपर्ने बिम, बरंजा र पिप्ले स्वास्थ्य चौकीको भवनको अवस्था पनि उस्तै छ ।
अठार महिनामा सक्ने लक्ष्यसहित विसं २०७० मा बेनीमा शुरु भएको जिल्ला जनस्वास्थ्य कार्यालयको भवन निर्माण कार्य हालै मात्र सकेर हस्तान्तरण भएको थियो । डिभिजनका इञ्जिनियर गणेश महर्जनले भौगोलिक विकटता र व्यवसायीले समयमै काम नगर्दा भवन निर्माणमा ढिलाइ भएको बताए।
ढिलाइ गर्ने व्यससायीलाई ताकेता गरिरहेको उनले बताए। उहाँका अनुसार बरंजा, पिप्ले र बिमको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसैगरी विसं २०७३ देखि देविस्थान र भगवती स्वास्थ्य चौकीको भवन निर्माण कार्य शुरु भएको छ।
यस वर्ष थप छवटा स्वास्थ्य चौकीको भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । कुइनेमंगले, घार, हिस्तान, पुलाचौर, कुहुँ, ओखरबोट र मल्कवाङ स्वास्थ्य चौकीको भवन निर्माणका लागि ठेक्का सम्झौताको तयारी भएको इञ्जिनियर महर्जनले बताए।
यसैगरी, बेनी अस्पतालको ५० सै्यया क्षमताको भवन र चिकित्सक निवासका दुईवटा भवन निर्माणको काम शुरु भएको छ । रासस