चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकाका तीनवटा वडालाई शनिवार पूर्ण खोप घोषणा गरिएको छ ।
वीरेन्द्रनगर स्वास्थ्य चौकीले आयोजना गरेको कार्यक्रममा सो नगरपालिकाको वडा नं ७, ८ र९ लाई पूर्ण खोप घोषणा गरिएको हो। कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले ती वडाहरुलाई पूर्ण खोप घोषणा गरेकी हुन्।
तीनवटा वडामा रहेका दुई वर्ष मुनिका २ सय १३ जना वालवालिकाले सबै प्रकारका खोप लाएको सुनिश्चितता गरी तीनवटा वडाहरुलाई पूर्ण खोप घोषणा गरिएको हो। कार्यक्रममा मेयर बरालले वडा नंं ९ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र लामालाई पूर्ण खोपको प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन्।
कार्यक्रममा वीरेन्द्रनगर स्वास्थ्य चौकीको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने स्थानीय प्रदिप पोखरेल, माया सापकोटा, चुनबहादुर तामाङ र कलाधर अर्याल तथा पूर्णखोप घोषणा गर्न सहयोग गर्ने स्वास्थ्यचौकीका कर्मचारी,व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य र महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपमेयर इमानसिं लामा, वडा नं ७ की वडा अध्यक्ष सुमिता डल्लाकोटी,वडा नं ८ का वडा अध्यक्ष बुद्धिराज थपलिया, नगरपालिकाका कार्यकारी अधिकृत मिठाराम हुमागाईँ, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका खोप अधिकृत दिवकर महर्जन,स्वास्थ्य चौकीका सिनियर अहेब कृष्णप्रसाद सुवेदी,वडा नं।९ का वडा सदस्य रामकुमार सुवेदी लगायतले मन्तव्य राखेका थिए । वडा नंं ९ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समिति उपाध्यक्ष जीना गुरुङले स्वागत मन्तव्य राखेकी थिइन्।