चितवन– चितवनको माडी नगरपालिकाबासीमा आँखाको समस्या देखिएको छ । माडीको आँखा शिविरमा मात्रै मोतियाविन्दुका बिरामी बढी फेला परेको उपचारमा संलग्न वरिष्ठ आँखा रोग चिकित्सक डा. राजेन्द्रबहादुर श्रेष्ठले बताए । माडी चितवनमै मोतियाबिन्दुको समस्या बढी भएको क्षेत्रका रुपमा पाइएको श्रेष्ठ बताउँछन् ।
माडी क्षेत्रका स्थानियहरुले आँखाको विषयमा ध्यान दिँदा मोतियाविन्दु पछि आँखामा मासु पलाउने र आँखाको भाइरललगायतको समस्या पनि धेरै देखिएको उनले बताए । साथै उनले माडीबाट निकुञ्जको दश किलोमिटर लामो जंगल क्षेत्र पार गरेर भरतपुर पुग्नुपर्ने झन्झटले गर्दा माडीवासी आँखाको उपचारमा उदासिन रहँदै आएको बताइएको छ।
आइ क्याम्प फर चितवन अभियान क्रममा एकैदिन ३० जना भन्दा बढी मोतियाविन्दु भएका बिरामी भेटिएका हुन् । माडीको बघौडा अस्पतालमा भएको निःशुल्क आँखा शिविरमा चार सय जनाभन्दा बढीले आँखा परीक्षण गराई आवश्यकता अनुसार औषधि र चश्मा निःशुल्क प्रदान गरेको अभियानका संयोजक एवं सपोर्ट एण्ड केयर पुनस्र्थापना केन्द्र रत्ननगरका अध्यक्ष राजबन्धु गौतमले जानकारी दिए ।
जर्मनी स्वयंसेवीहरुको सहयोगमा सपोर्ट एण्ड केयर पुनस्र्थापना केन्द्र रत्ननगर, नेशनल आँखा अस्पताल भरतपुर, सामुदायिक रेडियो माडी, बघौडा अस्पताल र माडी नगरपालिकाको समन्वयमा शिविर आयोजना गरिएको हो । चितवनका विभिन्न आठ स्थानमा अभियान अन्तर्गत निःशुल्क आँखा शिविर आयोजना भइरहेको जर्मनी नागरिक क्याट्रियाले बताइन् । अभियान अन्तर्गत रत्ननगर नगरपालिकाभित्रका चार ठाउँमा भएको आँखा शिविरबाट आठ सय जनाभन्दा बढी लाभान्वित भइसकेका छन्।
चितवनको सदरमुकाम भरतपुरबाट ४० किलोमिटर दक्षिणमा रहेको माडीमा आँखा अस्पताल नहुँदा माडीवासीले आँखाको उपचारमा समस्या भोग्दै आएका छन् । शिविरमा उपचारका लागि आउनेहरुमा अधिकांश वृद्धवृद्धा थिए ।
शिविरमा पत्ता लागेका मोतियाविन्दुका बिरामीको शल्यक्रिया नेशनल आँखा अस्पताल भरतपुरमा निःशुल्क रुपमा गरिने डा.श्रेष्ठले जानकारी दिए । सामुदायिक रेडियो माडीका अध्यक्ष सूर्यप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न आँखा शिविरको उद्घाटन माडी नगरपालिकाकी उपमेयर ताराकुमारी काजीमहतोले गरेकी हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर महतोले आँखा अस्पतालको अभावमा उपचार सेवाबाट बञ्चित हुनु परेका माडीवासीलाई आँखा शिविरले लाभ प्रदान गर्ने बताइन्।