काठमाडौं- दृष्टि आई केयर सिस्टम अन्तर्गत संचालित दृष्टि आँखा केन्द्र, कलंकीले टोखा नगरपालिकासँगको साझेदारीमा नयाँ शाखा विस्तार गरेको छ ।
यसअघि झापाको विर्तामोड, पर्साको विरगन्ज तथा काठमाडौको जमल, चाबहिल तथा कलंकी लगाएतका स्थानमा शाखा स्थापना गरेको दृष्टि आईले आठौ शाखाको रुपमा टोखा नगरपालिका ३ मा आजबाट सेवाआरम्भ गरेकोे हो ।
टोखामा स्थापना गरिएको दृष्टि आँखा केन्द्रमा आँखाको परिक्षण, चस्मा परिक्षण तथा चस्मा सम्बन्धी सुविधा, मोतियाविन्दुको परिक्षण, जलबिन्दुको परिक्षणका साथै आँखाको पर्दाको जाँचको सुविधा समेत उपलब्ध गराईने दृष्टि आँखा केन्द्रका कार्यकारी निर्देशक डा भाइराजा श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आँखा परिक्षणमा सवैको सहज पहुँच पुर्याउन पाँचबर्ष मुनिका बालबालिका र ७० उमेर पुगेकाहरुलाई निशुल्क आँखा परिक्षणको व्यवस्था गरिएको छ । त्यसैगरी अपाङ्गता भएका, एकल महिला र दलित समुदायको हकमा ६० बर्ष पुगेकालाई निःशुल्क आँखा परिक्षणको सहुलिएत प्रदान गरिएको छ ।