काठमाडौँ— विभिन्न विशेषज्ञ चिकित्सकहरुको संस्था ‘एक एक पाइला’ ले हुम्लाको सिमीकोटमा तीन दिने निशुल्क स्वास्थ्य शिविर गरेको छ। शिविरमा एक हजार ७ सय बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।
यही कात्तिक ९ देखि ११ गतेसम्म जिल्ला अस्पताल हुम्लामा चलेको शिविरमा तीन हजार बढीले स्वास्थ्य परार्मश लिएका थिए ।
छालारोग विशेषज्ञ डा सविना भट्टराईले शिविरमा नाक, कान, घाँटी, स्त्री रोग, छाला रोग, आँखा, दन्त, हाडजोर्नी, बालरोगलगायत विशेषज्ञ डाक्टरले सेवा दिएको बताइन्।
काठमाडौँ र पोखराबाट २२ जनाको विशेषज्ञको टोली हुम्ला पुगेको थिए । बिरामीलाई निःशुल्क औषधि वितरणसमेत गरेको डा भट्टराईले बताइन ।
मेजर र माइनर गरी २५० जनाको शल्यक्रिया गरिएको भट्टराईले जानकारी दिइन ।
१२ महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण प्याप स्मेयर पनि गरिएको थियो । हेपाटाइटिस, रगत, दिसा, पिसाव, गर्भपरीक्षण समेत गरिएको थियो ।