चितवन– चितवनमा ‘चौथो अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन’ बिहीबारदेखि सुरु हुने भएको छ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सार्क फेडेरेशन अफ अंकोलोजिस्ट नेपालको आयोजना सो सम्मेलन हुन लागेको हो । क्यान्सर भएर उपचारपछि नयाँ जीवन पाएकी नायिका मनीषा कोइरालाले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।
सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा २० भन्दा बढी विदेशी विशेषज्ञहरुका साथै सम्मेलनमा ३ सय विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने जानकारी दिइयो । देशमा रहेका १ सयभन्दा बढी क्यान्सरका चिकित्सक न्यून रहेकाले क्यान्सरका बिरामीहरुले सोचे अनुसार उपचार नपाएको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमा गरिने यस्तो सम्मेलनले ठूलो सहयोग मिल्ने आयोजकको अपेक्षा छ।
सम्मेलनमा नेपालका साथै भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका विशेषज्ञहरु सहभागी हुने आयोजक समितिका अध्यक्ष डा.भोला रौनियारले जानकारी दिए।
सम्मेलनमा देशविदेशमा क्यान्सर रोगको उपचार पद्धतिबारे अनुभव आदानप्रदान गरी विश्वमा भएका नयाँ उपचार प्रविधिको विषयमा कार्यपत्रहरु समेत प्रस्तुत हुनेछ।