काडमाडौं– गोकर्णेश्वर नगरपालिका वडा नं ५ का गणेश सापकोटा अर्थात् ‘मामा’ले एम्बुलेन्स चलाउन थालेको १० वर्ष भयो । अहिले उनी छिमेकी मैत्री समाज जोपाटीको एम्बुलेन्स चलाउँछन् । त्यसअघि अरु गाडी चलाउने उनी काम सँगै सेवा गर्न पाइने भएकाले २०६४ सालबाट एम्बुलेन्स चलाउन थालेको बताउँछन् । उनी सानैदेखि भावुक स्वभावका थिए । उनले भने, ‘दुईतीनपल्ट एम्बुलेन्स नपाएर बिरामीको ज्यान गएको देखें । त्यसपछि आफैं सेवामा लाग्छु भन्ने हिसावले एम्बुलेन्स चलाउन थालें।’
अरुलाई सहयोग गर्न पाउँदा आफूलाई आनन्द लाग्ने बताउँछन् उनी । ‘धेरै ठाउँका कुकुरहरु मेरो एम्बुलेन्स देख्यो कि पछि लाग्छन् । किनकि ती वेवारिसे कुकुरहरुलाई मैले खाना दिने गरेको छु,’उनले आफ्नो दयालुपन बारे खुलाए ।
सेवाभावले एम्बुलेन्स चलाउन थालेपनि गाडीको तेल, मर्मत, आफू र परिवारको खर्च यसैमाथि हुँदा निःशुल्क गर्न त सक्दैनन् तर उनी सक्दो कम भाडा लिन्छन् ।
एम्बुलेन्स चलाउन थालेपछि उनले रातबिरात भन्न पाउने त कुरै भएन । धेरैपल्ट उनी मध्यरात उठेर निस्केका छन् । भन्छन्, ‘मैले रोजेको पेशामा रातदिन हुँदैन । एकछिन भन्ने पनि हुँदैन । जे जस्तो अवस्थामा भएपनि कुद्नुपर्छ ।’
बिरामीसँग जोडिएका अनगिन्ती याद छन् उनीसँग । कति सुखद् छन् कति दुःखद् पनि । तीमध्ये केही घटना उनी कहिल्यै बिर्सिन सक्दैनन् ।
नेपाल बन्दको बेला एक जना विदेशी घाइते लिएर चीनको खासाबाट दिल्ली पुगेका छन् । देशभित्र त उनी कहिले यता, कहिले उता भइरहन्छन् ।
यसक्रममा एकपल्ट बिरामी डिस्चार्ज गरेर लम्जुङ्ग पुर्याउन गएको अविस्मरणीय घटना छ उनीसँग । उनकै लागि भनेर बिरामीका आफन्तले भोजको आयोजना गरेका रहेछन् । त्यहाँ बिरामी पुर्याएपछि एकदिन उतै बसेर रमाइलो गर्लान् भन्ने उनीहरुको चाहना हुँदो हो । त्यसैले उनका लागि भनेर घरमा कुखुरा काटेर परिकार बनाउन थालेका थिए । उनी एक त भेजेटेरियन, त्यसैमाथि रमाइलो गरेर बस्न कहाँ सक्थे । उनले आफू तुरुन्तै हिँड्नुपर्ने बताएपछि भोजै क्यान्सिल भएछ । उनी भन्छन्, ‘बिरामी पक्षबाट पाएको त्यो सत्कार र माया कहिल्यै बिर्सन सक्दिनँ । यसले मलाई थप सेवा गर्ने प्रेरणा पनि दिन्छ ।’
उनका अनुसार एम्बुलेन्स प्रयोग गर्नेहरुले प्राय पैसाका विषयमा किचकिच गर्दैनन् । तर, सधैं त्यस्तो हुँदैन । एकपल्ट उनले बेहोरेका छन् । काठमाडौंबाट डिस्चार्ज भएको बिरामी लिएर उनी गोर्खाको आरुबारी जाँदा थिए । वर्खाको समय भएकाले खराब बाटोमा एम्बुलेन्स फस्यो । त्यसपछि एम्बुलेन्सका मान्छेले किचकिच गर्न थालेछन्–कि घरसम्म पुर्याइदेउ नभए पैसा तिर्दैनौं ।’ उनलाई बडो असहज भयो । बिरामी पुर्याउनै हिँडेका थिए उनी तर परिस्थितिले समस्यामा पारेको थियो । उनी
एकपल्ट पोखराबाट काठमाडौँ आउँदै थिए । मलेखुमा गाडी दुर्घटना भएको रहेछ । तीनजना बिरामी एम्बुलेन्समा बोकेर काठमाडौं आए । तीमध्य एकजना बिरामीका हातै छिनिएको थियो । बिरामी पछाडि हात भने अगाडिको सिटमा राखेर समेत ल्याउनु परेको उनले बताए ।
जामको समस्या जताततै छ । जामका कारणले बिरामीलाई समयमै अस्पताल पुर्याउन मुश्किल भइरहेको उनको अनुभव छ । जामकै कारणले गर्दा थानकोटबाट नर्भिक ल्याउनुपर्ने बिरामी बाटोमै बितेको दुखद घटना सम्झिरहन्छन् उनी । उनी भन्छन्, ‘बच्चा जन्माउन अस्पताल लगिदै गरेका धेरैले जामकै कारणले एम्बुलेन्समै बच्चा जन्माएका छन् ।’
साइरन बजायो भने बाटो छाड्ने चलन छ । माइक्रो र मोटरसाइकल चालकलाई चाहिँ उनी एम्बुलेन्सको दुस्मन जस्तै ठान्छन् । उनी भन्छन्, ‘साइरन बजाउँदा पनि बाटो छोड्दैनन् । बरु सानो चेप भएपनि त्यसैबाट छिर्न खोज्छन् ।’कहिलेकाहिँ बाटो छाड्दा छाड्दै पनि ढिलो हुने उनी बताउँछन् । ‘पहिले त बिरामी नबोकेको एम्बुलेन्सले पनि साइरन बजाउथे । अहिले प्रहरीले त्यसलाई नियन्त्रण गरेकोमा खुशी लागेको छ,’ उनले भने । उनी एम्बुलेन्स चालक वान–वेमा हिँड्ने, अनावश्यक साइरन बजाउने गरेको उनलाई फिटिक्कै मन पर्दैन ।
उनलाई काठमाडौको एम्बुलेन्स सेवा भद्रगोल लाग्छ । कसैले पनि यसलाई व्यवस्थित गर्न नचाहेको उनको गुनासो छ । उनी भन्छन्, ‘एम्बुलेन्स भनेर निजी गाडीहरुमा साइरन र माथि एउटा बत्ती हालेर दौडाउने धेरै छन् । अनि मनलाग्दी भाडा लिने गर्छन् ।’
विभिन्न ठाउँबाट अनुदान भनेर एम्बुलेन्सहरु पुराना गाडीमा एउटा सिट, साइरन र बत्ती जोडेर दिएका हुने उनी बताउँछन्। उनको गुनासो छ, ‘एम्बुलेन्समा हुनुपर्ने पूर्वाधार केही पनि हुँदैन । दान दिनेले दियो भन्दैमा लिहाल्छन् ।’