डा. बोम बिसी हाल चिकित्सा विज्ञान राष्ट्रय प्रतिष्ठान (न्याम्स)मा पिजी अध्यनरत छन्। उनले जाजरकोट र रोल्पामा रहेर ४ वर्ष स्वास्थ्य सेवा प्रदान गरे । नेपालकै विकटमध्ये पर्ने यी जिल्लामा डाक्टर नजानु एउटा समस्या हो भने डाक्टर गएपनि तिनलाई स्थानीयले विश्वास नगर्ने अर्को अवस्था छ । उनले यी दुई जिल्लामा रहँदा गरेको केही अनुभवहरु स्वास्थ्य खबरलाई सुनाएका छन्।
म २०६७ साल चैतमा रोल्पा गएको थिए । शिक्षा मन्त्रालयबाट पाएको छात्रवृत्तिमा एमबीबीएस पढेको हुनाले दुई वर्ष सेवा गर्ने सिलसिलामा रोल्पा जिल्ला अस्पतालमा काम गरे । ५१ गाविस भएको रोल्पामा म करिव ४७ गाविसमा पुगे। ग्रामिण भेगमा अन्धविश्वासहरु प्रशस्त हुन्छन् । रोल्पा बस्ने क्रममा पनि त्यो समस्या देखेँ । रोल्पामा रहँदा एउटा नवजात शिशुमा नाइटो पाकेको समस्या लिएर अस्पतालमा आए । बुझ्दै जाँदा थाहा भयो, पकाएको मासुको झोल नाइटोमा खन्याइदिएछन् । त्यसले त इन्फेक्सन बढाउने भयो । नवजात शिशुको नाइटो बाँध्ने क्रममा केही नभए सफा धागोले बाँध्न सकिन्छ । तर, अन्धविश्वासले कपालको रौं प्रयोग गर्दा रहेछन्।
पेटमा अम्खोरा
ग्यास्ट्राइटिस (बोलीचालीको भाषामा ग्याष्ट्रिक) लगायतका समस्या भए लोटा, अम्खोराले पेटमा राखेर प्रेसर दिएर तान्ने सम्मको काम हुँदो रहेछ । रोल्पाको सदरमुकाम जोडिएको गाविसमै यस्तो स्थिती देखिएको हो। बच्चा जन्मेपछि बाहिर ननिकाल्ने, सबैतिर नदेखाउने चलन पनि त्यहाँ छ ।
परिवार नियोजनका साधनले बाँझोपन गराउने भ्रम
एउटा बच्चा नजन्माइ परिवार नियोजनका साधन प्रयोग गर्नुहुन्न भन्ने मान्यता त्यहाँ अझै पनि छ। त्यसले बाँझोपन बढाउँछ रे । पाठेघरमा राख्ने आईयुसीडी लगायतका साधन त प्रयोग नगर्नमै जोड दिइन्छ । हामी मेडिकल अधिकृतहरु एक्लैले चाहेर पनि केही गर्न नसकिने रहेछ । सुधारका लागि सामूहिक प्रयास जरुरी छ । तर प्रयास त छाड्नु भएन।
बिरामी पर्दा देउतालाई बोका
सुदूरपश्चिमममा जस्तो जाजरकोटमा छाउगोठहरुको समस्या त छैन । तर उत्तरी भेगमा त्यसका अवशेष भने देखिए । पखालाको प्रकोप हुँदा पनि पानी खुवाउनु हुँदैन । झोलिलो पदार्थ खुवाउन बन्द गर्नुपर्छ भन्ने मान्यताहरु देखिए । धामीझाँक्रीको मान्यता जाँजरकोटमा व्याप्त छ । पइक भन्ने गाविस तुलनात्मक रुपमा शिक्षित क्षेत्र हो, तर मष्ठा लगायतका नाममा धामीझाँक्री लगायतमाथिको विश्वास छ।
यज्ञ गौतम नामका अहेवले त्यहाँ पुगेर धामीझाँक्रीलाई निकै सचेत गराउनुभयो । उहाँले धामीझाँक्रीलाई नकारात्मक असर नपारी आफ्नो कामपछि उपचारका लागि अस्पताल पठाउन आग्रह गर्ने लगायतका काम गर्नुभयो । एकजना बिरामी जिल्ला अस्पताल आउनुभएको थियो, उहाँले सोझै भन्नुभयो, ‘देवी देउताको नाममा २र३ वटा त बोका काटिसकें, केही निको भएन भने तिमी केटाहरुले के उपचार गरौला र रु’ भनेर अविश्वास गर्नुभयो।
बच्चाको अाँखाको उपचार
शिविर सञ्चालनका लागि रोल्पाको एक गाउँमा फिल्डमा जाने क्रममा बाटोमा एउटा बच्चा भेटियो । बाटोमा उपचार गर्न त सम्भव थिएन । तर, भोलीपल्ट नजिकैको शिविरमा उसलाई बोलाएर आँखाभित्र पसेको परेला निकालेर उसको उपचार गरियो र त्यसले फुलो पार्नबाट जोगायो । गाउँलेहरुले निकै गुन माने । पछि मास हिस्टेरियाको समस्या आउँदा पनि म त्यही ठाउँमा गएको थिए । उनीहरुले निकै आभार व्यक्त गरे।
पछिल्लो समय स्वास्थ्यकर्मीहरु दुर्गम र टाढाको क्षेत्रमा स्थानीय तहमा गएर उपचार गराइरहेका छन् । रहरभन्दा पनि बाध्यताले गएको होला, त्यो अलग पाटो हो । तर, दुर्गममा गएर सुविधा त दियो, त्यसमा सकारात्मक हुनुपर्छ । केही वर्षयता दुर्गममा निकै पदपूर्ति पनि भएको छ । जाजरकोटमै पनि दुर्गमका स्वास्थ्य चौकीमा खच्चड बाँध्ने र बिरामी भए धामीझाँक्रीकोमा पुर्याउने अवस्था थियो । पछिल्लो समय भने अहेवहरु गाउँमै गएर स्वास्थ्यचौकीमा बस्ने गरेको र सेवा दिन थालेको पाइएको छ । सुधार गर्न खोजे सकिदो रहेछ।