काठमाडौं- सञ्चालनमा आएको एक हप्तामा नै अत्यधुनिक सुविधासम्पन्न तथा वातानुकूलित शारीरिक व्यायामशाला (फिटनेश पार्क) मा उपभोक्ताको आकर्षण ह्वात्तै बढेको छ ।
सुन्धारास्थित सिटिसी महलको आठौँ तलामा गत सोमबारदेखि सञ्चालनमा आएकोे अन्तर्राष्ट्रियस्तरको सो पार्क अहिले काठमाडौँका उच्चस्तरीय तथा मध्यमवर्गीय परिवारको व्यायामशालाका लागि पहिलो रोजाइ बन्न थालेको पार्कले जनाएको छ।
बेलायतको उपकरण आयात गरी नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको सो पार्क करिब छ हजार वर्गफिटमा फैलिएको छ । यो ४०० जना अट्ने क्षमताको र अपांगमैत्री भएको पार्कका प्रबन्ध निर्देशक उत्तम सिलवालले जानकारी दिए।
करिब पाँच करोडको लगानीमा स्थापित सो पार्कमा व्यायामशालाका लागि आधुनिक उपकरण तथा स्पासमेत छन्। उनले स्पाअन्तर्गत महिला पुरुषका लागि अलगअलग साउना, ज्याकुजी, स्टिम तथा बाथको व्यवस्था रहेको जानकारी दिए।
पार्कभित्र जुम्बा र एरोबिक अभ्यासका लागि सुविधायुक्त वातानुकूलित कक्ष छ । पार्कका निर्देशक हरिशंकर पुरीले शारीरिक अवस्था सुहाउँदो व्यायामको व्यवस्था पार्कमा रहेको बताउनुभयो । व्यायाम प्रशिक्षणका लागि १५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रशिक्षक छन्।
पार्कभित्र एकल स्टेशन जिम, ट्र्याम्पोलिङ र समूहगत साइक्लिङसमेत रहेको जनाइएको छ । शारीरिक व्यायामका क्रममा घाइते भएमा तत्काल प्राथमिक उपचार तथा वार्षिक बीमाको व्यवस्था रहेको बताइएको छ। रासस