काठमाडौं- महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले सुष्मा कोइराला मेमोरियल अस्पतालले भिन्न र उदाहरणीय तरिकाले सेवा गरेको बताएका छन्।
अस्पतालको २० औँ वाषिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री थापाले देशका विभिन्न भागबाट जलेर आएका बिरामीको उपचारमा अस्पतालले उत्कृष्ट सेवा गरिरहेको उल्लेख गरे।
सुष्मा कोइराला मेमोरियल ट्रष्टद्वारा स्थापित अस्पतालले मुख्य गरी आगो, तातोपानी, पेट्रोल, मट्टीतेल, डिजेल, एसिडलगायतका वस्तुले जलेका बिरामीको उपचार गर्दै आएको छ । ट्रष्टका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले अस्पतालमा आगामी दिनमा सेवा सुविधा थप गर्दै लैजाने बताइन्।
‘बीसौँ वर्षसम्म आइपुग्दा धेरैले सहयोग गर्नुभएको छ, बौद्धिक आर्थिक सहयोग गर्ने सबैलाई आगामी दिनमा पनि सहयोग जारी राख्नुहुन अनुरोध छ, हामी सेवासुविधा थप्दै अस्पताललाई अझ उत्कृष्ट बनाउने छौँ’ उनले भनिन् ।
पचास शै्ययाको अस्पतालमा ३० प्रतिशत शै्ययामा निःशुल्क बिरामीका लागि छुट्याइएको अस्पतालका प्रबन्ध निर्देशक हरि ढुंगानाले बताए।
सरकारी अस्पतालमा भन्दा सस्तो सुलभ उपचार सेवा प्रदान गर्दै आएको दाबी गर्दै ढुंगानाले कुनै पनि किसिमले जलेका बिरामी भेटेदेखेमा त्यस्ता बिरामीलाई सुष्मा कोइराला मेमोरियल अस्पतालमा खबर गरिदिन अनुरोध गरे। रासस