चितवन- चितवनको खैरहनी नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ। जिल्लामा पूर्ण खोप घोषणा हुने खैरहनी दोस्रो नगरपालिका हो। यसअघि माडी नगरपालिका पनि पूर्ण खोपयुक्त नगर घोषणा गरिएको थियो ।
एक समारोहमा जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मालाई पूर्ण खोपको प्रमाणपत्र हस्तान्तरण गरे।
नगरपालिकाका १२ महिनादेखि २३ महिनाभित्रका ८ सय ३३ बालबच्चालाई नेपाल सरकारको तालिका अनुसार सम्पूर्ण खोप लगाइएपछि पूर्ण खोपयुक्त घोषणा गरिएको थियो।
यसका लागि १० हजार २९१ घरधुरी रहेको खैरहनीमा ७ हजार २४२ घरमा सर्वेक्षण गरिएको थियो। खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र, कठार स्वास्थ्य चौकी, कुमरोज स्वास्थ्य चौकी र चैनपुर स्वास्थ्य चौकी अन्तर्गतका सेवा क्षेत्रबाट तथ्यांक लिइएको थियो।
जिससका सभापति डल्लाकोटीले जीवनको पहिलो सर्त स्वास्थ्य रहेकाले नगरपालिकाले यसतर्फ गम्भीर भएर क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताए।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले स्वस्थ समाज निर्माणका लागि खोप निरन्तर हुनुपर्नेमा जोड दिए।
सरकारले सन् २०१७ भित्र देशलाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य लिए पनि हालसम्म २९ वटा जिल्लामा मात्रै घोषणा भएको र त्यसमा चितवन धेरैपछि रहेको झाको भनाइ छ।