झापा- झापाको बिर्तामोडमा मंसिर २ गतेबाट सुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजार सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्।
बिएन्डसी अस्पतालले आयोजना गरेको स्वास्थ्य महोत्सवको सुरुवात पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को स्वास्थ्य परीक्षणबाट गरिएको थियो।
मंसिर ८ गतेसम्म सञ्चालित महोत्सवमा १६ हजार ८३२ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए।
महोत्सव अवधिभरमा ३२१ जनाले शल्यक्रिया सेवा र १५ हजार ७३२ जनाले प्रयोगशाला परीक्षण सेवा लिएको अस्पताल परिसरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो।
महोत्सवमा करिब एक करोड रुपैयाँ खर्च भएको अस्पताल प्रशासनले जनाएको छ। रासस