डा. सन्तोष सापकोटा, अमेरिका
नेपालको स्वास्थ्य सेवा प्रणालीलाई विश्वको स्वास्थ्य परिवर्तनसँग तुलना गर्दा कस्तो पाउनु भएको छ ?
नेपालको स्वास्थ्य सेवामा लाग्ने शुल्क एकदम नै न्यून छ। नेपाल प्रविधिका हिसाबले पछि परे पनि उत्कृष्ठ डाक्टरहरु छन्। नेपालमा पहिले नयाँ प्रविधि भित्रिन पनि समय लाग्थ्यो। तर अहिले त्यो पनि धेरै सजिलो छ। सरकारले निःशूल्क सञ्चालन गर्ने गरेको खोप, परिवार नियोजन कार्यक्रमहरु कतिपय विकसित देशहरुमा पनि छैन। स्वास्थ्य सेवामा नेपाल सबल बन्दै गएको छ। उपचारका लागि विदेशिहाल्नु पर्ने अवस्था पनि न्युन हुदै गएको छ।
सबल पक्षहरु हुँदाहुँदै पनि स्थिर सरकारको अभावमा स्वास्थ्य सेवामा पनि प्रभाव पारिरहेको छ। नक्कली डाक्टरहरुले पनि काम गरिरहेका हुन्छन्। कुनै पनि रोगको बारेमा विस्तृत अनुसन्धान र सर्वेक्षणहरुको अभाव पनि छ। ठूलो संख्यामा बिरामी वा घाइतेको उपचार पद्धतीको विकाशपनि अझै हुन सकेको छैन। नवजात शिशु र आमाको मृत्युपनि उत्तिकै हुने गरेको छ यसलाई नि रोक्न जरुरी छ। मेडिकल रेकर्ड सिस्टमलाई नि चुस्त बनाउन आवश्यक छ।
नेपालले के कस्तो नयाँ प्रविधि भित्राउन जरुरी देख्नु हुन्छ ?
राम्रो आर्थिक अवस्थामा भएका स्वास्थ्य संस्थाहरुले तुरुन्त नै मेडिकल रेकर्ड सिस्टमलाई वैज्ञानिक बनाउन र विद्युतिय रेर्कडमा जान जरुरी छ। अमेरिकाले पनि यसमा धेरै लगानी गरिरहेको छ। दिर्घरोगहरु ज्स्तै डाइविटिज, उच्च रक्तचाप, क्यान्सर, निमोनिया आदिको उचितको निगरानी राख्नु जरुरी छ। अस्पतालहरुले पनि आफ्नो वेवसाइटलाई अपडेट गर्ने र जनतालाई चलाउन सजिलो हुने गरि बनाउन जरुरी छ। सामाजिक संञ्जालहरुबाट पनि रोग र यसका निराकरण बारे जानकारी दिन सकिन्छ।
मेडिकल अफिसर भएता पनि स्वास्थ्य सेवाको नयाँ धारमा काम गर्दा कस्तो अनुभव भइरहेको छ ? सन्तुष्ट हुनुहुन्छ ?
मेरो जहिले पनि मेडिकल सुपरिटेन्डेन्ट बन्ने सपना थियो। अस्पताललाई व्यवस्थित गर्ने तिव्र इच्छा थियो। मैले क्लिनिकल काम छाड्दा डर पनि लागेको थियो। तर जब ओहियो विश्वविद्यालयबाट मैले हेल्थ एड्मिनिस्ट्रेसनमा स्नतकोत्तर गर्ने निर्णय गरेँ अहिले सम्झँदा राम्रो गरे जस्तो लाग्छ। अहिले मेडिकल इन्फोर्मेटिकस्मा काम गर्छु। मलाई गर्व नि लाग्छ कि मेरो एउटा निर्णयले हजाँरौ डाक्टरहरु जो जनताको सेवामा लागेका छन्लाई मद्दत पुग्छ।
तपाईले नेपाल छाड्नुको कारण के थियो ?
साँचो कुरा भन्दा म एकजना केटीलाई एकदम नै मनपराउँथे। तर नेपालमा उनलाई विवाह गर्न अलिक गाह्रो हुने भएकाले हामीले अमेरिका जाने निर्णय गर्यौं र यता नै विवाह गर्यौं।
स्वास्थ्य सेवामा भएको विश्वव्यापिकरणबाट नेपालले फाइदा लिन सक्ला कि नसक्ला ? सक्ने भए कसरी?
इन्टरनेटले धेरै कुरामा परिवर्तन ल्याएको छ र यो राम्रो को लागि नै हो। अमेरिकामा भएका डाक्टरले नेपालमा भएका हरुसँग सजिलै कुरा गर्न सक्छन्। नेपालमा भएका डाक्टरहरुले पनि विश्वभरिको जर्नल सजिलैसँग पढ्न र बुझ्न सक्छन्। रिर्सचमा पनि सजिलै सहयोग गर्न सक्छन्। सामानहरु किन्न पनि धेरै नै सजिलो छ। जनतालाई स्वास्थ्य सेवा लिन पनि यसले मद्दत गरेको छ।
नेपालको स्वास्थ्य सेवामा टेवा पुग्ने केही नयाँ कुराहरु सोच्नु भएको छ ?
म अहिले हेल्थ कन्सर्नका डा सुवास प्याकुरेल सँग नजिकै भएर काम गरिरहेको छु। ह्युमन प्यापिलोमा भाइरसको खोप कार्यक्रमको नेपालमा एकदम नै जरुरी छ। फेरि म विद्युतिय मेडिकल रेकर्डको प्रयोगलाई सजिलो बनाउन प्रयास नि गरिरहेको छु केही नयाँ सफ्टवेरको विकासमा पनि लागिरहेको छु। हेल्थ कन्सर्नको वेवसाइटलाई अझ राम्रो र पाठकहरुलाई सजिलै इन्फरमेसन दिन मिल्ने बनाउन नि काम भइरहेको छ। यसले नेपालमा स्वास्थ्यसेवा लिनका लागि आउने विदेशीहरुलाई पनि धेरै नै फाइदा पुग्न जान्छ। र मेडिकल टुरिजमको सम्भावना पनि उत्तिकै बलियो बनाउछ।
स्वास्थ्य सेवाको प्रशासनीक काममा नेपाल र अमेरिकामा कस्तो भिन्नता पाउनु भएको छ ?
अमेरिकामा म्यानेजमेन्टको पृष्ठभूमि भएका व्यक्तिहरु स्वास्थ्यको प्रशासनिक इकाइमा हुन्छन्। तर विस्तारै डाक्टरहरु पनि त्यहाँ पुग्न थालेका छन्। उनीहरुले विमा देखि स्वास्थ्य सेवालाई अलिक सुलभ बनाउन प्रयत्न गर्नु पर्छ। साथै यहाँ चर्चहरु र अन्य सामाजिक संस्थाको सहयोग भएको स्वास्थ्य संस्थाहरुपनि छन्। अहिले भने साना र मझौला स्वास्थ्य संस्थाहरु एउटै भएर ठूला र विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा पनि विकास भइरहेको छ।
मेडिकल टुरिजमको विकास गर्न नेपाल पनि कस्सिएको छ। तपाईको सुझाव के हुन सक्छ ?
सुरुमा त नेपालका चिकित्सकहरु संसारका अरु डाक्टर भन्दा केही कम छ्रैनन् भन्ने कुराको प्रचार गर्न जरुरी छ। अर्को भनेको विदेशीहरुले लिएको विमाको सेवा नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको पनि राम्रो अध्ययन गरेर प्रचार गनु पर्छ। नेपालका जनतालाई नै सुरुमा नेपालको स्वास्थ्य सेवामा विश्वास दिलाउन जरुरी छ। त्यो हुँदा नेपालका हुनेखानेले देश भित्रको नै स्वास्थ्य संस्थामा पैसा खर्च गर्ने थिए।
नेपाल मेडिकल काउन्सिलमा भर्खरै नयाँ कार्यसमिति बनेको छ। काउन्सिलले आफ्नो काम अझ प्रभावकारी तपाईको सुझाव के हुन सक्छ ?
काउन्सिल एकदम नै चाहिने निकाय हो। तर यसले राम्ररी काम गर्न सके जस्तो लाग्दैन। साथै यसका केही पदाधिकारी हरुले गरेको आर्थिक लाभले पनि प्रश्न धेरै उठ्ने गरेको छ। हरेक पदाधिकारीले काउन्सिलको मर्म बुझ्न सक्नुपर्छ। उनीहरुको आर्थिक क्रियाकलाप सार्वजनिक बनाउन जरुरी छ। अनलाई भोटिङ्ग व्यवस्था भए त झनै राम्रो हुन्थ्यो। काउन्सिलले पिजी पढ्न निशुल्क बनाउन दबाब दिन सक्नु पर्छ। साथै केही मेडिकल रेकर्ड सिस्टमलाई केही मेडिकल कलेजहरुमा बेटा साइटस्को रुपमा राख्दा त झनै राम्रो हुने थियो।
स्वास्थ्य खबरपत्रिका, २०७० असोज अंकमा प्रकाशित