मानिस हेर्दा स्वस्थ देखिए पनि उसको स्वास्थ्यमा जुनसुकै बेला समस्या देखिन सक्छ। स्वास्थ्यको बिषयमा कुरा गर्दा हामीले मुख र दाँतको स्वास्थ्य छुटाउन हुँदैन। कसैको मुख र दाँतमा समस्या छ भने उ जति स्वस्थ देखिए पनि उसको सास गन्हाउन सक्छ। मुख तथा दाँतको समस्या महिला, पुरुष, बृद्ध र बच्चा जो सुकै र जुनसुकै उमेरका व्यक्तिमा पनि देखिन सक्छ। मुख तथा दन्त चिकित्साशास्त्र अन्तरगत देखिने समस्यामध्ये गिजासम्बन्धी समस्या पनि एक हो।
गिजामा देखिने समस्या पनि फरकफरक हुन्छन्। दाँतमा फोहोर अड्किएर शुरुमा गिजा सुन्निने हुन्छ। शुरुको अवस्थामा नै वास्ता गरेन भने फोहोर भित्रसम्म पसेर वोनले सपोर्ट गरेको दाँत खियाइदिने, दाँत हल्लिने र दाँत यताउता सर्ने हुन्छ। फोहोरले गर्दा गिजालाई मात्र होइन, दाँतलाई पनि असर गरिरहेको हुन्छ। त्यसकारण दाँत र मुखसम्बन्धी स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। गिजा पिंक रंगको हुन्छ। फोहोरले गर्दा पछि गएर गिजा रातो हुने पनि हुन्छ। गिजामा समस्या देखिए पछि शुरुको अवस्थामा ब्रस गर्दा रगत देखिन थाल्छ। त्यसो त रगत देखिनुमा ब्रस पनि जिम्मेवार हुन सक्छ। कडा खालको ब्रस छ भने सामान्य अवस्थामा पनि रगत आउन सक्छ। तर, नरम किसिमले ब्रस गर्दा पनि रगत देखिन थालेमा चाहिँ विशेष ध्यान दिनु जरुरी हुन्छ। रगत देखिँदासमेत ध्यान नदिए फोहोर भित्रसम्म पुगेर हड्डी खिइएर दाँत हल्लिने र अन्त्यमा दाँत नै फाल्नुपर्ने अवस्था पनि आउन सक्छ।
गर्भवती महिलालाई छिट्टै रोग लाग्ने हुँदा यस समयमा गिजा ठूलो भएर सुन्निने पनि हुन्छ। हामीले राम्रोसँग दाँत सफा गरेनौं भने दाँतको कापमा फोहोर बस्ने र त्यसले गिजामा समस्या उत्पन्न गर्ने गर्छ। त्यसैले गिजाको समस्याबाट बँच्नकालागि दिनमा दुई पटक दुईदेखि चार मिनेटसम्म ब्रस गर्नुपर्छ। यससँगै बिभिन्न माउथ वास प्रयोग गर्नुपर्छ। माउथ वास छैन भने नुन पानीले कुल्ला गर्ने बानी बसाल्नु पर्छ। यति गर्दा पनि गिजामा समस्या देखिएमा दन्त चिकित्सकलाई जँचाउनु पर्छ।
गिजाबाट रगत आउने, सुन्निने, पिप आउने अवस्थामा पनि ध्यान नदिएमा भित्र इन्फेक्सन भैसकेको हुन्छ। यो अवस्थामा उपचार प्रक्रिया नअपनाइ पान, गुट्खा र सुपारी खाने गरेमा मुखको क्यान्सर समेत हुन सक्छ। मुखको क्यान्सर कुने प्रमुख कारण नै चुरोट, सुर्ती, पान र गुट्खा हो।
गिजा स्वस्थ छैन भने बोल्दा सास गन्हाउने पनि हुन्छ। हामी नेपालीहरु दाँत तथा मुखको स्वास्थ्यलाई त्यति महत्वका साथ हेरेको पाइँदैन। स्वस्थ दाँत हुनु भनेको हामी स्वस्थ हुनुको पहिलो सर्त हो। यदि दाँत नै स्वस्थ छैन भने हामी खाएको खाना पनि राम्रोसँग चपाउन सक्दैनौं। यसले गर्दा हाम्रो कारण पाचन प्रक्रियमा समेत समस्या हुन्छ। त्यसकारण दाँत स्वस्थ हुनुपर्छ भन्ने हामी नेपालीले बुझ्न सकेका छैनौ। गिजाको समस्याले दाँतलाई अड्याएर राख्ने हड्डी खिइँदै जान्छ र दाँत हल्लिन शुरू हुन्छ। समस्या देखिने बित्तिकै उपचार गरियो भने दाँतलाई बँचाउन पनि सकिन्छ। तर हड्डी धेरै नै खिइसकेको छ भने दाँत नै निकाल्नु पर्ने पनि हुन्छ।
दाँतको सुरक्षाकालागि गिजा महत्वपूर्ण भाग हो। दाँत किराले खाएर दाँत भर्नुप¥यो भने पनि गिजा स्वस्थ छैन भने यस्तो अवस्थामा रगत आउन थाल्छ। गिजामा छुदा पनि रगत आउन थाल्छ। रगत आउन थालेपछि दाँतको फिलिङ गर्दा त्यहाँ रगत परेमा राम्रोसँग बस्दैन। त्यसैले पछि उपचार गर्नुभन्दा गिजालाई सधैं स्वस्थ राख्नुपर्छ।
हरेक दन्त चिकित्सामा गिजा एक महत्वपूर्ण भाग हो। गिजाको वरिपरी मात्र फोहोर र समस्या भएमा गिजाको वरिपरी सफा गर्नुपर्छ। भित्रसम्म फोहोर पसेर गिजा तल सर्न थाल्ने भएको छ भने गिजाको भित्री भागसम्म सफा गर्नु पर्छ। यदि हड्डी पूरै खिइसकेको छ भने सर्जरी गरी बोनको ग्राफ्टिङ्ग गर्नुपर्ने हुन्छ।