जब मष्तिस्कले गर्दै आएका महत्वपूर्ण कामहरु जस्तै संझने शक्ति, आफन्तजनहरुलाई चिन्ने, उनीहरुको नाम संझने, सरसफाई, नुहाइ धुवाई तथा दिशा, पिसाव आदि पहिले गर्दै आएका कार्यहरु राम्रोसँग गर्ने शक्ति क्षीण हुदै जान्छन वा हराउदै जान्छन त्यस्ता लक्षणहरु भएका व्यक्तिहरुलाई बिर्सने रोग (डिमेन्सिया) भएको हुनसक्छ। डिमेन्सिया बुढेसकालका कारणले नभइ मस्तिष्क रोग हो। मष्तिस्कमा रोग नलागेका बृद्धमा डिमेन्सियाका लक्षणहरु देखिदैनन्।
याद राख्नुपर्ने मुख्य कुरा के हो भने, डिमेन्सिया रोग हो, बुढेसकालको लक्षण होइन्। हाम्रो समाजमा यो बुढेसकालका कारण भएको हो भन्ने सोचाई व्यापक छ। रोगका कारण देखिएका लक्षणहरुलाई हेर्ने दृष्टिकोण छुट्टै हुन्छ भने बुढेसकालका कारण मात्र भएका लक्षणहरु जस्तो लाग्यो भने त्यस्तै व्यवहार परिवारबाट हुने गरेको प्रायः देखिएको छ।
किन यस्तो रोग लाग्छ भन्नेबारे विभिन्न अध्ययन, अनुसन्धान भएका छन। मष्तिस्कका स्नायुकोषहरु मर्दै जाने र मष्तिस्कमा भएका केहि रसहरु उत्पन्न गर्ने स्नायुकोषहरु पनि हराउदै जाने गरेको पाइएको छ। डिमेन्सिया हुने कारणहरु धेरै छन ती मध्ये करिव ७० प्रतिशत विरामीहरु अलजाईमर रोगका कारणले हुने गरेका छन। अलजाइमर्स रोग एक प्रकारको डिमेन्सिया हो। डा. एलोइस अलजाईमर रोगले यो रोगमा मष्तिस्कमा के खरावी हुन्छ भन्ने कुराको विवरण दिएकाले उनैको नाममा अलजाईमर रोग भन्ने गरिएको हो।
डिमेन्सिया हुनसक्ने अन्य कारणहरुमा अत्यधिक मदिरा सेवन, एचआइभी/एड्स, पोषण तत्वको कमी र मष्तिस्कमा रक्तसंचार राम्रो हुन नसक्दा हुने मल्टि इनफ्रक्ट डिमेन्सिया हुन्। डिमेन्सिया रोग लागिसके पछि उपचार गरेर निको हुने सम्भावना निकै कम हुन्छ। प्रायः डिमेन्सिया रोग ६० वर्ष उमेरपछि मात्र लाग्दछ र जति उमेर वढ्दै गयो अर्थात ७०, ८० वा ९० वर्षका मानिसहरुमा डिमेन्सिया हुने सम्भावना बढ्दै जान्छ।
मष्तिस्कले गर्ने कामहरु
नयाँ कुरा सिक्ने र संझने
कुनै कुरालाई ध्यान दिएर सुन्ने र वुझ्ने
विचार गर्ने र समस्या परेमा समाधानको खोजी गर्ने
ठीक, वेठिक कुराको निर्णय लिने
हिसाब गर्न सक्ने
आफु कुन ठाउँमा छु, के कस्तो अवस्थामा छु भन्ने संझना राख्ने र
आफुले भन्न खोजेको कुरा सही शब्दहरुको चयनगरी भन्न सक्ने क्षमता
डिमेन्सिया रोग सुरु भएपछि यस रोगका लक्षणहरु विस्तारै देखिन थाल्दछन् र अलि अलि गरेर बढ्दै जान्छन्। रोग वढीसकेपछि माथि भनिएका कार्यहरु मश्तिष्कले गर्न सक्दैन त्यसै कारण विभिन्न लक्षणहरु देखिन्छन्।
बिरामीहरुमा प्रायः देखिने लक्षणहरु
पैसा, गरगहना, साँचो वा कागजपत्रहरु राखेको ठाउँ प्रायः जसो बिर्सिने र घण्टौ खोजी गर्नुपर्ने (कहिले काँही विर्सने जो कोहीलाई पनि हुन सक्छ र रोग मानिदैन)।
परिवारका सदस्यहरुको नाम संझन पहिले कुनै कठिनाई हुदैन थियो तर अहिले आएर बिर्सीराख्ने। नाम संझायो तर एकैछिनमा फेरी विर्सिसक्ने।
आफुले गर्दै आएको काम वा बहन गरेको जिम्मेवारी विग्रदै जाने र पछि गर्नै नसक्ने अवस्थामा पुग्ने।
रोग वढ्दै गएपछि भर्खरै खाना खाएको पनि विर्सने र मलाई खानै दिएनन् भनेर कराउने, खाना माग्ने।
आफ्नै छोरा, छोरी, वुहारीलाई नचिन्ने, हजुर, तपाई, भन्ने आफ्नै परिवारका सदस्यहरुलाई नचिनेको मान्छे आयो, चोर हो कि ? सामान चोरी गर्छ कि भनेर डराउने र आफ्नो सामान लुकाउने।
उपचार तथा हेरचाह
पोषणको कमीका कारण वा थाइरोइड ग्रन्थी सम्बन्धी रोगका कारण डिमेन्टिया भएको रहेछ भने उपचार सम्भव छ, तर अन्य कारणहरुले भएको डिमेन्सियाको उपचार छैन भनेपनि हुन्छ। औषधी उपचार नभएका कारण र यस्ता विरामीको हेरचाह ज्यादै बढी गर्नुपर्ने कारण परिवारले निकै कठिनाई झेल्नु पर्ने हुनसक्छ। खास गरेर डिमेन्सिया बढ्दै गएपछि यस्ता समस्याहरु आउँछन्। यस्ता विरामीहरुमा निम्न कुराहरु ध्यानमा राख्नु पर्छ।
व्यक्तिगत सरसफाई र खानपिन आदि काम साना बच्चाबच्चिलाई गरे जस्तै गर्नु पर्ने हुन्छ।
दिउस सुत्न दिदा राती ननिदाउने समस्या हुने हुँदा राती सुत्ने वानी वसाल्नु राम्रो हुन्छ।
घरको ढोका, घर कम्पाउन्ड भए ढोका÷गेट राम्रोसँग बन्द गर्नुपर्छ,। अन्यथा घर बाहिर गएमा विरामी आफै घर पर्किन सक्दैनन र परिवारलाई विरामी खोज्न
सास्ती हुनसक्छ। विरामीको खल्तीमा घरको नाम, ठेगाना, फोन नं. भएको कार्ड राखिदिन सक्यो भने हराएमा खोज्न सजिलो हुन्छ। नाम/फोन नं भएको व्रासलेट (चादी वा अन्य धातुको ) लगाई दिदाँ पनि हुन्छ।
अन्य समस्याहरु जस्तै आँखामा मोतीविन्दु, सुन्ने समस्या, मधुमेह, उच्च रक्तचाप आदि भए त्यस तर्फ पनि ध्यान दिनुपर्ने हुन्छ।
लडेर चोटपटक लाग्ने र विभिन्न इन्फेक्सनहरु भएर समस्या हुन सक्छ र त्यस तर्फ पनि सर्तक हुनु जरुरी छ।
निन्द्रा नलाग्ने, अनुपयुक्त व्यवहार गर्ने, रिसाउने, तोडफोड गर्ने आदि समस्या भएमा केही औषधीहरुको प्रयोग गर्न सकिन्छ।
डिमेन्सियाका विरामीहरुलाई टेन्डर लभिङ केयर चाहिन्छ। किनकि संजोगवस उनीहरुलाई यस्तो रोग लाग्यो, रोगका कारण मष्तिस्कले आफुले गर्नुपर्ने काम गर्न सकेन, विभिन्न लक्षणहरु देखिए र विरामी आफ्नो हेरचाह विल्कुलै गर्न नसक्ने अवस्थामा पुगे भने यसमा विरामीको त कुनै गल्ती वा दोष छैन। त्यसैले उनका लक्षणहरुलाई रोग मानेर लिन सक्यो र आफुले गर्न सक्ने वा गराउन सक्ने हेरचाह÷रेखदेख गर्दा राम्रै हुन्छ। यसलाई वोझको रुपमा लिएन भने मानसिक तनाव पनि त्यति हुदैन।
डिमेन्सियाबाट कसरी बच्न सकिन्छ ?
यो रोगबाट बच्न र बचाउँन सकिन्छ कि भनेर धेरै अध्ययनहरु भएका छन्। तर यसबाट बच्ने उपाय भेटिएको छैन्। मूलतः यो रोग ६५ वर्ष भन्दा माथिकालाई हुन्छ र जति उमेर बढ्दै गयो त्यति लक्षण होइन हुने सम्भावना बढ्दै जान्छ। ६५– ७० वर्ष उमेरका मानिसहरुमा लक्षण हुने करिव १ प्रतिशत संभावना छ भने ९० –९५ वर्षकालाई १० प्रतिशत जति सम्भावना छ। अध्ययनहरुबाट यो रोगबाट पुरै वच्ने सम्भावना नभेटिए पनि केही तथ्यहरु भने पत्ता लागेका छन्। जुन अवलम्वन गर्दा यो रोग नलाग्न सक्छ।
पहिलो कुरा, स्मरण शक्तिमा कमि आउने अरु धेरै कारणहरु छन्। जस्तै केही भिटामिनहरुको कमी जस्तै भिटामिन बि, केही हर्मोनहरुको कमि जस्तै थाइरोइड र केही औषधीहरुको प्रयोग हुन्। त्यस्तै गरेर डिप्रेशन रोग लाग्दा, धेरै मानसिक तनाव हुँदा, निद्राको समस्याले गर्दा, लागु औषधीको प्रयोग वा धेरै मदिरापानका कारण पनि स्मरण शक्ति कम भएको हुनसक्छ। यी कारणहरुले गर्दा स्मरणशक्ति कम भएको रहेछ भने, कमी भएको तत्व पुरा गर्दा र नोक्सान गर्ने पदार्थहरु छोड्दा फाइदा हुन्छ। दोश्रो महत्वपूर्ण कुरा उच्चरक्तचापको उचित उपचार, ह्रदयघातबाट बच्ने प्रयास र भइहालेमा उपचार गर्दा लक्षण होइन हुने सम्भावना घट्छ। आफ्नो वजनलाई नियन्त्रणमा राख्ने, नियमित शारीरिक व्यायाम गर्ने, खानपिनमा विशेष ध्यान दिने र आवश्यक पोषण तत्वहरुको कमी हुन नदिँदा डिमेन्सिया हुने सम्भावना निकै कम हुने गरेको अध्ययनहरुले देखाएका छन।