लिपोसक्सन भनेको अस्वभाविक रुपले जमेको बोसो (फ्याट) लाई शल्यक्रियाको माध्यमबाट निकाल्ने वा अरु ठाँउमा राख्ने काम हो। यसलाई अर्को भाषामा बडि कन्टोरीङ्ग पनि भनिन्छ। शरीरको कुनै भागमा बोसो बढी भयो र ठूलो बम्प भयो भने त्यसलाई मिलाएर वा भित्रको बोसोलाई निकालेर शरीरलाई सुन्दर तथा आकर्षण बनाउन यसको प्रयोग गरिन्छ।
शरीरको कुनै भाग अस्वभाविक रुपमा ठूलो भएको व्यक्तिका लागि यो विधि महत्वपूर्ण हुनसक्छ। लिपोसक्सन मोटोपनको समाधान होइन तर यसले स्थायी रुपमा शरीरको रुप परिवर्तन गराउन सक्छ। जसको अलि बढी फ्याट छ र विभिन्न व्यायाम गर्दा पनि फ्याट कम हुँदैन, त्यस्ता व्यक्तिहरुलाई लिपोसक्सन गर्न सकिन्छ। र यस्तो बेला शरीरमा भएको बोसो हटाउने एक मात्र उपाय हुनसक्छ लिपोसक्सन। जुनसुकै उमेर समूहका व्याक्तिले यो शल्यक्रिया गराउन सक्छन्।
यो त फ्याट निकाल्ने भयो अर्को फ्याट ग्राफ्टीङ्ग गर्ने गरिन्छ। फ्याट ग्राफ्टीङ्ग भनेको एक ठाँउको फ्याट निकालेर अर्को ठाँउमा हाल्ने हो। शरीरको कुनै भागमा खाल्टो भयो अथवा कतै डिफेक्ट भयो भने त्यो खाल्टो पुर्न फ्याट ग्राफ्टीङ्ग गरिन्छ। विशेष गरि उक्त फ्याट पेट, तिघ्राबाट निकालिन्छ। पुरुषको स्तनलाई पनि रिडियुस् गर्नु पर्यो भने पनि यो शल्यक्रिया गर्न सकिन्छ। नेपालमा यो शल्यक्रिया भर्खरै सुरु गरिएको छ।
लिपोसक्सन विशेष गरी गाला, चिउँडो, घाँटी, पाखुराको माथिल्लो भाग, स्तन, छाति, कम्मर, हिप, तिघ्रामा गर्न सकिन्छ। तर मधुमेह, उच्च रक्तचाप वा मुटु रोगी साथै कन्टोर गरिने क्षेत्र नजिकै अरु शल्यक्रिया गरेको थियो भने समस्या हुन सक्छ।
तौलको आधारमा कति फ्याट निकाल्ने त्यसमा भर पर्छ। कहिले काहिँ १० लिटर निकाल्यो भने ५–७ केजी तौल घट्छ। तर आज भोली तौल घटाउनको लागि भन्दा पनि बडी कन्टोरीङ्गको लागि नै बढी प्रयोग हुन्छ। विश्वमा हरेक वर्ष हजारौं व्यक्तिहरुले यो शल्यक्रिया गर्छन् र त्यस्तो जटिलता भोग्नुपरेको छैन। तर पनि यो शल्यक्रियाको बेफाइदा बुझ्न भने जरुरी छ।
बेफाइदाहरु
शल्यक्रिया गरेको क्षेत्रमा संक्रमण हुन सक्ने।
घाउ निको हुन समय लाग्ने।
छाला निदाउने सक्ने।
छाला मर्ने।
लाइपोसक्सन गरेको भागमा कहिले काहि रगत संचार कम भई त्यो भागको छाला मरेर पनि जान सक्छ।
छालाको रङ् परिवर्तन हुन सक्छ।
ध्यान दिनुपर्ने कुराहरु
केही हप्ता आराम गर्नुपर्छ।
गर्हुँगो काम गर्नु हुदैन।
शल्यक्रिया भएको लगभग दस दिन पछि डाक्टर देखाउनु पर्छ।
रक्तश्राव भएमा डाक्टर देखाउनु पर्छ।