उदयपुर– ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्दै मंगलबार उदयपुरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । उदयपुर जिल्लालाई प्रदेशनं १ का प्रमुख प्रध्यापक डा. गोबिन्द तुम्बाहाङले घोषणा गरेका हुन्।
त्रियुगा उच्च माध्यमिक बिद्यालयको प्राङ्गण भएको उक्त कार्यक्रममा विभिन्न जातजातीका झाँकीसमेत प्रर्दशन गरिएको थियो । जिल्ला घोषणा हुनु पूर्व जिल्लाका ८ वटै स्थानीय तहमा घोषणासभा गरिसकिएको छ। पूर्ण खोप निर्देशिका अनुसार घरधुरी सर्भेक्षण गर्दा जिल्लामा १२ देखि २३ महिनाका ७ हजार ८ सय ८९ बालबालिका भेटिएको र सबैलाई पूर्ण खोप लगाइसकिएकाले जिल्लालाई घोषणा गरिएको हो । कार्यक्रममा बोल्ने प्रदेश सांसद विमल कार्की, हिमाल कार्की, अम्बिका थापाले खोपको चर्चा गर्दै राज्यले दिएको सुविधा उपभोग गरि स्वस्थ नागरिक बन्न आग्रह गरे।
स्थानीय तहहरु र त्यस अन्तर्गतका वडाहरुको बिशेष सहयोगमा सिंगो जिल्ला नै घोषणा संभव भएको जिल्ला खोप समन्वय समिति उदयपुरका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले जानकारी दिए।साथै राजनितिक दल,सरकारी कार्यलयहरु,संघसंस्थाहरु,नागरिक समाज,संचार जगत लगायतको उल्लेख्य सहयोग रहेको भन्दै धन्यबाद ज्ञापन गरे।
कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख वलदेव चौधरी, बेलकाका प्रमुख दुर्गाकुमार थापा, ताप्ली गाउँपालिकाका प्रमुख उद्धवबहादुर थापा, जनस्वास्थ्य प्रमुख सागर प्रसाईंलगायतले बोलेका थिए।