रुपन्देही – रुपन्देहीको सैनामैनास्थित पर्रोहा स्वास्थ्य चौकीमा कर्मचारी छनोट प्रक्रियाामा असन्तुष्टि जनाउँदै नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले सैनामैना नगरपालिकाको मेयर तथा उपमेयरको कार्यकक्षमा तालाबन्दी गरिदिएको छ।
सैनामैना नगरपालिकाले पर्रोहा स्वास्थ्य चौकीमा आमा सुरक्षा कार्यक्रम अन्तरगत २४ घण्टे प्रसुती सेवामा करारमा नियुक्ति गर्दा कार्यरत कर्मचारीलाई हटाएर नयाँ कर्मचारी भर्ना गरेको र भर्ना पक्रियासमेत त्रुटीपूर्ण रहेको भन्दै तालबन्दी गरिएको हो । त्यसलाई नसच्याउँदासम्म तालाबन्दी कायम रहने नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका सचिव रामप्रसाद ढकालले बताए।
नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष विश्वबन्धु विनयीको नेतृत्वमा पदाधिकारी समेतको टोलीले निर्णय सच्याउन माग गर्दै बुधबार मेयर चित्रबहादुर कार्की र उपमेयर बिना रानाको कार्यकक्षमा तालाबन्दी गरिदिएको हो।
पर्रोहा स्वास्थ्य चौकीमा आमा सुरक्षा कार्यक्रम अन्तरगत प्रसुती सेवामा दुईजना स्वास्थ्यकर्मी करारमा काम गर्दै आएका थिए । उनीहरुको करार अवधि सकिएलगत्तै नगरपालिकाले जिल्ला जनस्वास्स्थ्य कार्यालयले प्रदान गरेको एक तथा नयाँ एक दरबन्दी सिर्जना गरि ४ पदमा दरखास्त आह्वान गरेको थियो।
जसमा नगरपालिकाले पर्रोहामै कार्यरत विष्णु खड्का, रुद्रपुर हेल्थ पोष्टमा कार्यरत रीता शाही, सुर्यपूरा हेल्थपोष्टमा कार्यरत माया बिक र फरेना हेल्थपोष्टमा कार्यरत श्रीमाया थापालाई चयन ग¥यो र उनीहरुलाई असार मसान्तसम्मको लागि बुधबार नै नियुक्ति दिइसकेको छ । २०६६ सालदेखि पर्रोहा हेल्थ पोष्टमै काम गर्दै आएकी सरस्वती श्रेष्ठलाई बैकल्पिकमा नाम निकालेको छ ।
कर्मचारी पदपूर्ति समितिमा सम्बन्धित क्षेत्रका प्रमुख स्वतः सदस्य रहने व्यबस्था भएपनि नगरपालिकाले दरखास्त आह्वान गर्दादेखि छनौट प्रकृया पूरा गर्दासम्म नगरपालिकाले स्वास्थ्य शाखा प्रमुखलाई कुनै जानकारी दिएको छैन । सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले त्यसबारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए।
नगरपालिकाका कार्यकारी प्रमुख कृष्णप्रसाद भण्डारीले नगरपालिकाले सबै प्रक्रिया पुर्याएर काम गरेकाले त्यसमा विवाद गर्नुको कुनै अर्थ नभएको वताए । संघले पुराना कर्मचारीलाई प्राथमिकता दिईनुपर्ने बताउँदै उनीहरुलाई पूर्ववत रुपमा यथास्थितीमा पुनर्बहाली गर्न र नयाँ सिर्जना भएका दरबन्दीमा मात्रै नयाँ ढंगले पदपुर्ति गर्नुपर्ने माग गरेको हो ।