सिन्धुपाल्चोक- जिल्लाको उत्तरी भेगमा पर्ने पाँचपोखरी थांपाल गाउँपालिकामा जिल्लास्थित सरकारी कार्यालयले एकीकृत रूपमा सेवा प्रवाह गर्न थालेका छन्।
माघ १७ र १८ गते पाँचपोखरी थांपाल गाउँपालिका वडा नं ४ स्थित थांपालकोटमा र माघ १९ गते वडा नं ७ तिपेनीमा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा एकीकृत जनस्वास्थ्य अभियान सम्पन्न भएको छ।
चौतारा अस्पताल, मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र, तिलगंगा आँखा प्रतिष्ठान तथा मेरी स्टोप्स इन्टरनेशनल सहितका संस्थाको संलग्नतामा अभियान सम्पन्न भएको हो। बिरामी जाँच, प्राथमिक आँखा उपचार, परिवार नियोजनको लामो अवधिको सेवा, गर्भवती महिलालाई अल्ट्रासाउन्ड, अपाङ्गता पहिचान र औषधि वितरण तथा परामर्श लगायतका सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक केशव रिजालले बताए।
स्थानीय रूपमा पाँचपोखरी थांपाल गाउँपालिकाले संयोजन गरेको अभियानमा महिला तथा पुरूष ओपिडी १५२ जना, आँखा रोगी १४३, इम्प्लान्ट सेवा १८ जना, ७ जना गर्भवतीलाई अल्ट्रासाउन्ड सेवा र अपाङ्गता पहिचान ३२ जना गरी जम्मा ३८४ जनालाई सेवा दिइएको स्वास्थ्य संयोजक आत्माराम धितालले बताए।
जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रका अनुसार जिल्ला स्वास्थ्य प्रमुख डा पोमावती थापाको नेतृत्वमा जम्मा २५ जना सेवा प्रदायक स्वास्थ्यकर्मी परिचालन गरिएको थियो।