काठमाडौं– मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)ले स्वास्थ्य प्रयोगशाला विभाग तथा काउन्सिल स्थापनाको माग गरेको छ । मेलानको शनिबार सम्पन्न काठमाडौं जिल्ला सम्मेलनले उक्त माग गरेको हो । संगठनले स्वास्थ्य प्रयोगशालाका कर्मचारीको न्यूनतम पारिश्रमिकको ग्यारेन्टीसमेत माग गर्दै विशेष हस्ताक्षर संकलन पनि गरेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. तारानाथ पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले भोला पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ । समितिका उपाध्यक्ष्यमा निरन्जन खनाल, सचिवमा पुष्कर सत्याल, सह–सचिवमा आशिष श्रेष्ठ र कोषाध्यक्षमा फणिन्द्र ज्ञवाली निर्वाचित भएका छन् ।
सम्मेलनमा मेलानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद रिजालले अबको मेलानको लडाईं निजी क्षेत्रमा काम गर्ने प्रयोगशालाकर्मीको न्यूनतम पारिश्रमिक र जोखिम भत्ताको सुनिश्चितताका लागि हुने बताए । राष्ट्रिय सम्मेलन २०७४ का संयोजक एवं केन्द्रीय महासचिव राजेन्द्र खड्काले अबका दिनमा गुणस्तरीय प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने प्रतिवद्धता जनाएका थिए भने केन्द्रीय कोषाध्यक्ष रेशम अधिकारीले प्रयोगशालासम्बन्धी शैक्षिक मुद्दालाई प्राथमिकतामा राखेर राष्ट्रिय सम्मेलन पछि कार्ययोजना बनाई अघि बढ्ने जानकारी दिए । सम्मेलनमा सरकारी, निजी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने प्रयोगशालाकर्मी सहभागी थिए ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।