धेरैजसो बिरामी पेटको दुखाइका कारण अस्पताल आउने गर्छन्। प्रायः ग्यास्ट्रिकको समस्या भयो भन्दै आउँछन्। तर, लामो समयसम्म दुखाइ कम नहुने, ग्यस्ट्रिकको औषधिले दुखाइ कम भएजस्तो हुने तर दुखाइ निको नहुने समस्या लिएर बिरामी अस्पतालको ढोका सम्म आइपुग्छन्। पेटको दुखाइ भइरहनु भनेको ‘अबसेक्युर एब्डोमिनल पेन’ हो।
यसमा बिरामीलाई औषधि दिँदा केही हदसम्म निको भएजस्तो अनुभव हुन्छ तर दुखाइ निरन्तर रहन्छ। यस्तो समस्याले बिरामीलाई मात्र होइन डाक्टरलाई पनि गाह्रो पार्छ। रोग पत्ता लगाउन मुस्किल हुने अवस्था आउन सक्छ।
हामीले इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस) मेसिनबाट बिरामीको परीक्षण गर्दा यो समस्या के हो भन्ने पत्ता लगाएका छौं। यस्तो समस्या लिएर आउने बिरामीको रोग पत्ता लगाउन यो मेसिन उपयोगी भएको छ।
निरन्तर पेटको दुखाइ भएका बिरामीलाई यो मेसिनबाट परीक्षण गरेपछि रोग पत्ता लागेको छ। यस्ता समस्या भएका ५० प्रतिशत बिरामीलाई ‘क्रोनिक प्याङ्क्रियाटाइटिस’ भएको पाइयो। माथिल्लो भागको पेट दुखाइमा ग्यास्ट्रिकको जस्तै लक्षण देखिए पनि औषधिले निको नहुने यो समस्या भएका बिरामीका लागि इन्डोस्कोपी मेसिन एकदमै उपयोगी साबित भएको छ।
इन्डोस्कोपिक अल्ट्रासाउन्ड भनेको पनि इन्डोस्कोपी नै हो। यो मेसिनको सहायताले पाइप हालेर पेटभित्र हेरिन्छ जहाँ इन्डोस्कोपीसँगै अल्ट्रासाउन्ड पनि हुन्छ। त्यसैले छुट्टाछुट्टै गर्नु पर्ने झन्झट रहँदैन। मेसिनको सहायताले पेटभित्रबाट अल्ट्रासाउन्ड गरिन्छ। पेटभित्रबाट अल्ट्रासाउन्ड गर्दा प्याङ्क्रियाजको समस्या के छ छर्लङ्ग हुन्छ। प्याङ्क्रियाजको समस्या जे कारणले भएको हो, त्यो हेर्न मद्दत पुग्छ।
प्याङ्क्रियाज बिग्रिएको छ कि छैन, नलीहरुको अवस्था कस्तो छ भन्ने कुरा मेसिनको सहायताले मूल्यकंन गर्न सकिन्छ र रोगहरु पत्ता लगाउन सकिन्छ। यो मेसिनकै मद्दतले सुइमार्फत प्याङ्क्रियाज नमूना निकालेर बायप्सी जाँच गर्न सकिन्छ।
प्याङ्क्रियाटाइटिसको समस्या हुने बिरामीका लागि इन्डोस्कोपिक अल्ट्रासाउन्डले सिटी स्क्यान र एमआरआईभन्दा माथिलो स्तरको काम गर्छ।
अस्पतालहरुमा इन्डोस्कोपिक अल्ट्रासाउन्डको मेसिन भएर मात्र हुँदैन, यसको उच्चतम प्रयोग गर्ने ज्ञान पनि हुनु उत्तिकै जरुरी छ।
इन्डोस्कोपिक अल्ट्रासाउन्डका फाइदा
– रोग पत्ता लगाउन धेरैतिर धाउनुपर्दैन।
– तुरुन्त बायप्सी लिनका लागि सजिलो माध्यम।
– प्याङ्क्रियाटाइटिस समस्यामा मात्र सीमित नभएर यसलाई धेरै रोगका लागि प्रयोग गर्न सकिन्छ।
– यो मेसिन खासगरी प्याङ्क्रियाजकै रोगका लागि नै बनेको हो।
– पेटको खाने नलीको वरिपरि गाँठागुठी के प्रकारमा छन्, त्यसलाई यो मेसिनको माध्यमबाट बायप्सी गर्छ सकिन्छ।
– मेसिनले कस्तो खालको क्यान्सर लागेको छ भनेर भनिदिन्छ, अनि काहाँसम्म फैलिएको छ भन्ने कुरा जानकारी दिन्छ।
– पेटभित्रका धेरै रोग पत्ता लगाउन मद्दत गर्छ। कलेजोमा समस्या भएका मान्छेको नसा फुलेको छ कि छैना भनेर पत्ता लगाउन सकिन्छ।
– दुखाइ कम गर्न सहयोग गर्छ। प्याङ्क्रियाटिक क्यान्सर भएका मान्छेको उमेर पनि छोटो हुन्छ र उनीलाई धेरै गाह्रो हुने भएकाले यो मेसिनको माध्यमबाट सुइ (थेरापिटिकल इन्जेक्सन) दिएर दुखाइ कम गर्न सकिन्छ।
– प्याङ्क्रियाटिक सिरोसिस (प्याङ्क्रियाजमा भएका पानीका थैलाहरु ठूलो भएर दुःख दिनु) को उपचार पहिला शल्यक्रियाबाट मात्र हुन्थ्यो। अब यो मेसिनको माध्यमले प्याङ्क्रियाटिक सिरोसिसबाट पानी निकाल्न सहज भएको छ।
– पित्तथैलीको पत्थरी पत्ता लगाउन मद्दत गर्छ। पित्तथैलीको पत्थरी कहिलेकाहीँ पित्तथैलीको नलीमा गएर बस्छ, यो समस्या पत्ता लगाउन अल्ट्रासाउन्डले मात्र कहिलेकाहीँ नदेखिन सक्छ। तर इन्डोस्कोपिक अल्ट्रासाउन्डबाट यो समस्या पत्ता लाग्छ।
(डा सन्दीपराज कुँवर नर्भिक अस्पतालमा पेट तथा कलेजो रोग विशेषज्ञ रुपमा कार्यरत छन्)