केही मानिसमा आराम गर्दा मेरुदण्ड दुख्ने तर काम वा हिँडडुल गर्दा कम हुने समस्या देखिन्छ। यसलाई ‘स्पोनडाइलो आर्थराइटिस’ अर्थात् बोलीचालीको भाषामा मेरुदण्डको बाथ भनिन्छ। यसलाई सामान्य रुपमा मेरुदण्डको रोगको रुपमा लिइए पनि यसले शरीरका अन्य जोर्नी र अंगमा पनि उत्तिकै असर गरिरहेको हुन्छ। यो केवल मेरुदण्डको बाथ मात्र नभई दीर्घकालीन रोग हो।
यो रोग महिलाको तुलनामा पुरुषलाई बढी हुने गर्छ। विशेषगरी कम उमेरका पुरुषमा यो समस्या बढी देखिन्छ। यो रोगअन्तर्गत एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस, रियाक्टिभ आर्थराइटिस, सोरियाटिक अर्थाराइटिस, इन्टेरोपेथिक आर्थराइटिस र जुभेनियल (१६ वर्ष मुनिका बच्चामा हुने) स्पोनडाइलो आर्थराइटिस पर्दछन्। तर, यसमा सबैभन्दा प्रमुख समस्या भनेको एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस नै हो। यो आर्थराइटिस सामान्यतया वंशाणुगत रुपमा जसमा ‘एचएलए बी २७’ जीन पोजेटिभ हुन्छ, उनीहरुमा देखिने गर्दछ। यसबाहेक आन्द्रमा हुने जीवाणुको संक्रमणले यी समस्या देखिने तथ्यहरु फेला परेका छन्।
एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिसमा विशेषगरी मेरुदण्ड, कम्मर र मेरुदण्डबीचको हड्डीमा असर गर्छ। यो समस्या २० देखि ४० वर्षबीचका पुरुष युवामा बढी देखिन्छ।
रियाक्टिभ आर्थराइटीस पिसाबको संक्रमण वा पखाला लागेको केही दिनदेखि केही हप्तापश्चात् पनि देखापर्न सक्छ। जसमा शरीरका ठूला जोर्नीमा असर गर्छ। धेरैजसो खुट्टाका जोर्नीमा समस्या देखिन्छ।
सोरियाटिक आर्थराइटिस सोराइसिस भन्ने छालाका रोगीमा देखिन्छ। जसमा शरीरका साना तथा ठूला दुवै जोर्नीमा असर पर्न सक्छ।
इन्टेरोपेथिक आर्थराइटीस आन्द्राको अल्सरेटिभ कोलाइटिस र क्रोन्स रोग भएका बिरामीमा देखिन्छ। आन्द्राको यी समस्यामा पेट दुख्ने, दीर्घकालिन पखाला लाग्ने, दिसामा रगत जाने, तौल घट्नेजस्ता लक्षण देखिन्छन्। इन्टेरोपेथिक आर्थराइटिसमा मेरुदण्ड र कम्मरबीचको जोर्नी तथा घुँडामा दुख्ने समस्या हुन्छ।
लक्षण
सवैभन्दा बढी हुने ‘एन्काइलोजिङ स्पोनडाइलो आर्थराइटिस’ को प्रमुख लक्षण ढाडको तल्लो भाग दुख्नु हो। यो दुखाइ महिनौंसम्म रहिरहन्छ र बिस्तारै बढ्दै जान्छ। आराम गर्दा ज्यादा दुख्ने र केही काम वा हिँड्डुल गर्दा दुखाई कम हुने यसका विशेषता हुन्। यसका साथै बिहान उठ्दा शरीर कक्रिएजस्तो हुन्छ। जुन हिड्डुल गर्न थालेपछि बिस्तारै कम हुँदै जान्छ। दुखाइका कारणले रातको दोस्रो प्रहरमा बिरामीको निद्रा टुट्ने, ढाडको तत्लो भाग पालैपालो दुख्नेजस्ता लक्षण देखिन सक्छन्। दुखाइका कारण निहुरिन गाह्रो हुने हुनाले दैनिक कामकाजमा कठिनाई हुन्छ। यसका साथै बिरामीमा थकान तथा कमजोरी महसुस हुन्छ।
लामो समयससम्म उपचार नभएमा हड्डीमा परेको असरका कारण ढाड कुप्रिने, घाँटी चलाउन कठिनाई हुने समस्या निम्तिन्छ। कहिलेकाही यो रोगमा हात वा खुट्टाको पुरै औला सुन्निएर दुख्ने पनि हुनसक्छ। खुट्टा टेक्ने बेलामा कुर्कुच्चा दुख्नु यो रोगको अर्को लक्षण हो।
जटीलता
यस रोगले जोर्नीबाहेक आँखा, मुटु, मिर्गौला र आन्द्रामा पनि नकारात्मक असर पु¥याउन सक्छ। कहिलेकाही यो रोगमा अकस्मात् आँखा रातो भएर दुख्ने र दृष्टिमा समस्या आउने हुनसक्छ। उपचार नगरेको खण्डमा मिर्गौला फेल हुने तथा मुटुको भल्भको समस्याका कारण मानिसको मृत्यु पनि हुनसक्छ।
पहिचान
यो रोगको शंका लागेमा आवश्यकताअनुसार रगत परीक्षण, एक्स–रे तथा एमआरआई गराइन्छ। रगत परीक्षणमा एचएलए बी २७ जीनको परीक्षण यसको विशेष जाँच हो।
उपचार
रोग पहिचान भएपछि यसको उपचार सम्भव छ। यो रोगका लागि खाने औषधिका साथै इन्जेक्सनहरु पनि उपलब्ध छन्, जसलाई बायोलोजिक्स भनिन्छ। बायोलोजिक्स छालामा दिने र नशामा दिने दुवै खालका हुन्छन््। बिरामीको अवस्था हेरेर कुन प्रकारको औषधि दिने हो, त्यो निर्णय विशेषज्ञ चिकित्सकले गर्ने गर्छन्। औषधिबाहेक यो रोगको उपचारसँग जोडिएको महत्वपूर्ण पक्ष नियमित व्यायाम हो। व्यायामले मेरुदण्ड स्वस्थ्य रहन मद्दत पु¥याउनुका साथै मंशपेशी बलियो बनाउने, दुखाई कम गर्न एवं शरीर कक्रन कम गर्न मद्दत गर्छ।
मेरुदण्डमा मात्र नभई शरीरका अन्य जोर्नी र अंगमा समेत नकारात्मक असर पु¥याउने हुनाले स्पोनडाइलो आर्थराइटिसको समयमै निदान र उपचार गर्नुपर्छ। समयमै उपचार गराएमा यसबाट हुने गम्भीर जटिलताबाट समयमा नै बच्न सकिन्छ।
-(वाथरोग विशेषज्ञ डा बिष्ट वीर अस्पतालमा कार्यरत छन्)