रुपन्देही – विगत १६ दिनदेखी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पतालको आइसीयु कक्षमा उपचार गराइरहेका प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ का ४१ वर्षीय डोरबहादुर थापा क्षेत्रीको उपचारमा कुनै कमि हुन नदिन सांसदहरुले अस्पताललाई निर्देशन दिएका छन्।
आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको समाचार बिहीबार मात्रै स्वास्थ्यखबरमा आएको थियो । त्यसपछि उनको वस्तुस्थिति बुझ्न अस्पतालमै पुगेर बिरामी, उनका आफन्त र अस्पताल प्रशासनलाई भेटेकोे प्युठानबाट प्रदेश सभाका लागि निर्वाचित सांसद हरि रिजालले जनाए । उनले भने, ‘हामीले डोरबहादुरको स्वास्थ्य अवस्था, उहाँको घरायासी अवस्थाको सत्यतथ्य बुझ्यौं । उहाँहरुसँग अब विक्री वितरण गर्ने सम्पति पनि केही छैन । भएजत्तिको बेचेर अस्पताललाई बुझाउनु भएछ । उहाँहरुसँग पैसा पनि छैन । तथापी जसरी पनि मान्छे बचाउनुपर्छ भनेर हामी अस्पताल प्रशासनलाई उपचारमा कुनै कमि नराख्न भनेका छौं।’
प्युठान रुपन्देही सम्पर्क मन्चको पहलमा सांसद रिजाल संगै प्युठानबाटै निवाचित सांसद तारा जिसी र भैरहवा क्षेत्रबाट निर्वाचित सांसद सन्तोष पाण्डे सहितको टोलीले डोरबहादुरको स्वास्थ्य उपचारको विषयमा अस्पतालमै पुगी चासो व्यक्त गरेको हो।
उनीहरुले डोरबहादुरको श्रीमतिलाई समेत सान्त्वना दिँदै भने, ‘तपार्इं चिन्ता नगर्नुस् । जत्ति खर्च लागे पनि उनको उपचार गरेर स्वस्थ बनाएर घर पठाउने व्यवस्था हामी मिलाउछौं ।’
सांसदहरुको सान्तनवा पछि डोरबहादुरको श्रीमति बिजुला थापाले आफैँले मत दिएर जितेका नेताले भनेपछि श्रीमान् बाँच्ने आशा बढेर गएको बताइन् ।
सांसदहरुले अस्पतालका प्रमुख अजय कुमारलाई भेटेर डोरबहादुरको उपचारमा आर्थिकको कारणले कुनै कमि नराख्न आग्रह गरको हुन् । उनको आग्रहलाई स्वीकार्दै प्रमुख अजय कुमारले भने, ‘हामी डोरबहादुरको उपचारमा कुनै कमि हुन दिँदैनौं।’
सांसदहरुसंगै प्युठान रुपन्देही सम्पर्क मन्चका अध्यक्ष पदम जिसी सहितको टोली, रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष माधब न्यौपाने लगायतले भेटेका छन् । डोरबहादुरको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्युठान रुपन्देही सम्पर्क मन्चका सचिव श्याम पोखरेलले जनाए।
डोरबहादुर आँपको रुखबाट लडेर गम्भिर घाइते भई उपचारका लागि श्रीमतिसँगै भैरहवा आएका हुन् । उपचाररत थापा क्षेत्रीका १० वर्षिय एक छोरा अपांग छन् । अर्को ८ वर्षिय छोरी घरमै छन् । थापा क्षेत्रीको स्वास्थ्य उपचारमा खटिएका न्यूरोसर्जन डा. राजकुमार केसीका अनुसार उनको घाटीको हड्डी भाँचिएको थियो अहिले अपे्रसन भएर निको हुने क्रममा छ । उनलाई केही दिन अझै आइसियूमै राखेर उपचार गर्नुपर्नेछ।
उपचारको क्रममा घरखेत समेत बेच्दा नपुगेपछि डोरबहादुरको उपचारमा समस्या भएको थियो । अहिलेसम्म साढे ४ लाख भन्दा बढी खर्च भइसकेको छ । पछिल्लो समय भैरहवा क्षेत्रका विभिन्न संघसंस्थाले चन्दा उठाएर डोरबहादुरको उपचार गराइरहेका छन्।