बुटवल– भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पतालको आइसीयु कक्ष भित्र बाहिर गरिरहेकी हुन्छिन् करिब ३० वर्षिय एक महिला । उनमा छटापटाहट देखिन्छ । अनुहारको रंग उडेर फुस्रो भएको छ । धेरै दिनदेखि पोशाक फेर्न नपाएको देखिन्छ । कपालले काइँयो नभेटेको पनि हप्तौं भयो होला, गुजुल्टो परेको छ । प्युठान गोठीबांगकी बिजुला थापा दुःख, पीर र छटपटीले चकमन्न भएकी छिन्।
बेला–बेला कसैले नदेख्नेगरी भक्कानिन्छिन् । साथमा रहेका उनका दाजु थमथम्याउँछन्, फेरि सम्हालिन्छन् । १५ दिनदेखी आइसियुको बेड नम्बर १ भेन्टिलेटरको सहयोगमा श्वास फेरिरहेका छन् उनका ४१ वर्षीय श्रीमान् डोरबहादुर थापा । जसलाई सिसा बाहिरबाट हेरेर धेरै समय तउनी टोहलाइरहन्छिन्।
बिजुलाले श्रीमानको उपचारको लागि प्युठान गोठीबांगमा रहेको पाखोबारी पनि बेचि सकिन् । उनीसँग अब पहाडमा एउटा घर मात्रै छ । त्यो पनि बेचेर उपचार गर्न खोजेकी हुन् तर त्यो विक्री नभएपछि रुँदै बस्दै गरेकी थिइन्।
नाता कुटुम्ब सबैसँग क्रृणधन गरेर करिब ४ लाख रुपैयाँ भन्दा बढी अस्पतालमा खर्च गरिसकेकी छन् । उनी श्रीमान्लाई जसरी पनि बचाउन चाहिन्छन् । तर दैनिक २०, २५ हजार खर्च भइरहेको छ । उनी श्रीमानको उपचारमा भइरहेको खर्च र घरमा रहेका १२ वर्षिय अपांग छोरा र एक ८ वर्षीय छोरीलाई सम्झेर सोच्नै नसक्ने अवस्थामा छिन्।
‘कमाउने श्रीमान मर्नु न बाँच्नुको अवस्थामा हुनुहुन्छ । म के गरौं, बेच्न मिल्ने भए म आफूलाई बेचेर भएपनि श्रीमान् बचाउँथें,’ उनले आँखाभरी आशु पार्दै भनिन्, ‘यो देश हामी जस्ता गरिबका लागि रहेनछ । गरिब त बाँच्नै नसक्ने रहछौं।’
बिजुलाले आफुले चिनेजानेका मान्छे मार्फत् प्युठानबाट चुनाब जितेका सांसद कृष्णध्वज खड्का र हरी रिजाल, स्वर्गद्वारी नगरपालिका मेयरलाई पनि गुहारीन् तर उनीहरुले पनि मौखिक आश्वसन मात्रै दिए । ‘तपाईं नआत्तिनिुस् हामी गर्छौं भन्नुहुन्छ तर केही सहयोग भएन,’ उनको दुखेसो छ।
आफैंले मत दिएर चुनाब जिताएका नेताले परेको बेला गुहार माग्दा पनि वास्ता नगरेपछि उनको चित्त दुखेको छ । उनका दुखःका समाचार पुगेपछि भैरहवास्थित रोट्याक्ट क्लब अफ भैरहवाले उनलाई सक्दो सहयोग गरिरहेको छ।
आइतबारदेखी क्लबले मेडिकल कलेज भैरहवामा पुगी बिरामी, बिरामीका परिवार तथा उपचारमा संलग्न डक्टरलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लियो । आर्थिक व्यवस्थापन गर्न सके बिरामी निको हुने अस्पतालको आश्वासन अनुसार पैसाकै अभावमा ज्यान जानबाट बचाउनको लागि अभियान सुरु गर्ने निर्णय गरेको क्लबका अध्यक्ष माधव न्यौपानेले बताए।
क्लबले अहिलेसम्म ५० हजार १ सय ५ रुपैयाँ बिरामीको श्रीमति बिजुलालाई हस्तान्तरण गरेको छ । अध्यक्ष न्यौपानेले भने ‘हामीले मानवीय नाताले प्युठानी डोरबहादुरको उपचारमा आर्थिक सहयोग गर्नेगरी जुटिरहेका छौं । अरु सहयोग पनि उठाइरहेका छौं।’
सबै संघसंस्थालाई डोरबहादुर बचाऊ अभियानमा सक्दो आर्थिक सहयोग गरि सहभागी हुन हार्दिक अनुरोध अध्यक्ष न्यौपानेले गरे । विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरिरहेको र उक्त रकम डोरबहादुका श्रीमतिलाई हस्तान्तरण गरिएकोे क्लबका संस्थापक अध्यक्ष प्रकाश शर्माले जानकारी दिए।
हालसम्म अस्पताललाई करिब ३ लाख बुझाएर पनि अझै डेढ लाख बुझाउन बाँकी रहेको बिरामीको श्रीमतीले बताइन्।
निम्न वर्गिय थापा आँपको रुखबाट लडेर गम्भिर घाइते भएर यहाँ ल्याइएका हुन्। उपचाररत थापाका १० वर्षिय एक छोरा अपांग छन् । अर्को ८ वर्षिय छोरी घरमै छन् । थापा क्षेत्रीको स्वास्थ्य उपचारमा खटिएका न्यूरोसर्जन डा. राजकुमार केसीका अनुसार उनको घाँटीको हड्डी भाचिंएको थियो । भाँचिएको हड्डीको अप्रेसन भइसकेको छ । तर श्वासप्रश्वासमा समस्या भएकोले भेन्टिलेटरमा राख्नु परेको उनले बताए।
यता अस्पताल प्रशासनले बिरामीको उपचार उधारोमा भइरहेको जनाउँदै कोही दाता भए सहयोग गर्न सक्ने जनाएको छ । डोर बहादुरको उपचारमा सहयोग पु¥याउन प्युठान नगरपालिकाका मेयर नेत्र बहादुर रोका क्षेत्रीले पनि सबैलाई सार्वजनिक रुपमा अनुरोध गरेका छन्।
डोरबहादुर बचाऊ अभियानमा रोट्रयाक्ट क्लब अफ भैरहवालाई आर्थिक सहयोग उपलब्ध गराउनेहरु क्लबका सदस्यहरुलबाट १० हजार १ सय ५, करुणा फाउन्डेसन ,युसीएमएसबाट १० हजार, सिद्धार्थ यातायात प्रा.लि.,सुर्यकुमार शारुमगरबाट ५ हजार १ सय , भन्सार एजेन्ट महासंघका अध्यक्ष डा. शान्त कुमार शर्माबाट ५ हजार १ सय , अमिताब बुद्ध बौद्य बिहारका अनिल केसी बाट १० हजार, आन्तरकि राजस्व कार्यालय कर्मचारी परिवार बाट ५ हजार, हिमान्सु झा, भैरहवाबाट ५ हजार, दिपक पौडेल, कोरिया बाट ५ हजार सहयोग गरेका छन्।
यसैगरी नमुना एकिकृतको अध्यक्ष ज्ञानु पौड्यालबाट ५ हजार १ सय, सानु शर्माबाट ४ हजार, प्राचिन थैव, बेलहियाबाट २ हजार १ सय , प्रीन्सबाबु काफ्लेबाट २ हजार १ सय, पश्चिमाञ्चल स्कुलका राजुशर्मा ढकाल, भैरहवाबाट २ हजार, देवराज न्यौपाने, बेलहिया बाट १ हजार ५ सय, कृष्ण घिमिरे, बेलहियाबाट १ हजार ५ सय, असिम न्यौपाने, बेलहिया बाट १ हजार ५ सय , मधु पन्थी, बेलहिया बाट १ हजार, सुमन शर्मा, बेलहिया बाट १ हजार १ सय , कोपिला क्षेत्री भैरहवा बाट १ हजार ५, ओम पौडेल भैरहवा बाट १ हजार १ सय ५ रकम उठेको क्लबका अध्यक्ष न्यौपानेले जनाए ।