नर्स भएर काम गर्न सुरु गरेको १० वर्ष भयो। तर १० वर्षको अवधिमा ९ वर्षको दसैं अस्पतालमा ड्यूटी गरेर बितेको छ। एउटा दसैंमा मात्रा आनन्दसँग घरमा बस्ने मौका मिलेको छ। हरेक दसैंमा घरमा बुबाममीको हातको टिका लगायो अनि छिटो–छिटो ड्यूटी गर्न अस्पताल पुग्नुपर्छ।
मेरो घर धादिङ भए पनि पहिलेदेखि नै काठमाडौंमा बस्दै आएका छौं। त्यही भएर पनि प्राय दसैं यतै हुन्छ। अनि टीकाको दिन पनि अस्पताल जानुपर्छ। हाम्रो इष्टमित्रहरु त धादिङमा नै हुनुहुन्छ। सानो बेलमा बुबा र ममीले मलाई धादिङमा लैजाँदा म सँधै बिरामी हुन्थेँ। त्यही भएर पछि यतै दसैं मनाउन थालिएको हो।
हाम्रो दसैं सधैभरी काठमाडौँको सुनसानमा मनाएको भएर अझै पनि मनमा अब दसैं आयो काठमाडौँ सुनसान हुन्छ, गाडीहरु कम चल्छन् भन्ने मात्र दिमागमा आउँछ।
पहिलापहिला स्कुल पढ्दा सबै दसैं आयो अब घर जान पाइन्छ भनेर रमाउँदा मलाई पनि दसैं भनेको गाउँमा मात्र आउने रहेछ जस्तो लाग्थ्यो। काठमाडौं त सुनसान हुन्छ, रमाइलो पनि लाग्दैन जस्तो लाग्थ्यो।
दसैंको बेलामा काठमाडौँ सुनसान हुँदा हामी ठूक्कले विभिन्न ठाँउमा घुम्न जान्थ्यौँ। हलमा गएर फिल हेर्ने, मन्दिर जाने गर्दा रमाइलो लाग्थ्यो।
स्कुल पढ्ने बेलामा टिचरले एक महिनालाई पुग्ने होमवर्क दिनुहुन्थ्यो। त्यो हामीले छिटो छिटो सिध्याएर दसैंको बेलामा खेल्ने, घुम्ने, फिल्म हेर्ने गथ्र्यौँ।
००
अहिले नर्स भएर दिनरात दसैं, तिहार नभनि सबैसँग बसेर रमाइलो गर्न नपाउँदा अरु नै पेसा रोज्न पाएको भए हुन्थ्यो जस्तो लाग्छ कहिलेकाँही। अरुले रमाइलो गरिरहँदा आफू काममा आउनुपर्दा नरमाइलो लाग्ने रहेछ।
हुन त दसैंको बेलामा अन्य समयको जस्तो चाप हुदैँन। तर पनि अस्पतालमा त आउनुपर्छ। यता खासै काम पनि नहुने अनि उता रमाइलो पनि गर्न नपाइने हुँदा चाँही दुःख लाग्छ।
दसैंको समयमा अस्पतालमा भर्ना भएका बिरामीहरुले पनि अस्पतालमा नै दसैं मनाउँछन्। उनीहरुले फलफुल किनेर ल्याएर हामीलाई पनि दिन्छन्। त्यो देखेपछि चाँही बिरामीले परिवारसँग दसैं मनाउन नपाए पनि हामीलाई परिवार जस्तो ठानेर दसैं मनाइरहेका छन्। त्यतीबेला चाँही खुसी लाग्छ।
-(वीर अस्पतालमा कार्यरत नर्स शोभासँग सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित)