चाडपर्वमध्ये मलाई तिहार विशेष लाग्छ। तिहारमा मनै आनन्दीत हुन्छ। सानै उमेरदेखि नै तिहारको झलिमिली, देउसी भैलोले मन रोमाञ्चित बनाउँथ्यो। अहिले पनि तिहारको सबै कुराले छुट्टै आनन्द दिने गर्छ। तिहारमा घर परिवारसँग समय दिने, दिदीभाई टिका लगाउने र देउसी खेल्न मलाई रमाइलो लाग्छ।
तर, चिकित्सक भएपछि छुट्टी भन्ने हुँदो रहेनछ। बिदाको दिन पनि बिरामीको उपचारमा जानुपर्छ। सबै मानिसहरु रमाइरहेको समयमा बिरामीको उपचारमा जानुपर्ने हुन्छ। यसबाट हामीलाई दुःख लाग्दैन। यो त हाम्रो पेशागत धर्म हो। बिरामीको ज्यान बचाउन र सेवा गर्न पाउँदा खुसी लाग्छ।
यो पटक विराटनगर घर जाने योजना थियो। तर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठन (न्याम्स) र वीर अस्पतालमा पदाधिकारी नियुक्त नभएकाले निमित्त निर्देशकको जिम्मेवारी मलाई दिइएको छ। प्रमुख पदाधिकारी नै नभएका कारण आक्समिक अवस्थालाई मध्येनजर गर्दै यतै बस्ने निर्णय गरेको छु।
यही बिचमा अस्पतालबाट फोन आयो वा कोही नियमित बिरामी पक्षबाट फोन आयो भने अस्पताल वा बिरामीको उपचारमा जान्छु।
पहिला पहिला तिहारको समयमा रातको २ बजे अस्पताल पुगेर बिरामीको उपचार गरेको छु। राती २ बजेदेखि ५ बजेसम्म अस्पतालमा बसेर फर्केको तीन घण्टापछि पुन ८ बजे काममा गएको अनुभव पनि छ। तर अहिले पहिलाको जस्तो धेरै व्यस्त हुनुपर्ने अवस्था भने छैन। हामी चिकित्सकलाई चाडबाडको समयमा पनि रात बिहान भन्ने हुँदैन। चाडबाडको समयमा झन सर्तक रहनुपर्छ। यी सबै कुरालाई मिलाएर घर परिवारमा पनि समय दिनुपर्छ।
सानो छँदा निकै देउसी भैलो खेलियो। त्यतीबेला आफ्ना साथीहरुसँग खेल्नुका साथै विद्यालयबाट विशेष रुपमा पनि खेलिन्थ्यो। विद्यालय बनाउन रकम संकलन गर्न पनि हामीले देउसी खेलेका छौँ।
त्यतीबेला विद्यालयले नै देउसी कार्यक्रम गरेको थियो। सामाजिक कामका लागि देउसी खेल्न पाउँदा निकै खुसी लागेको थियो। त्यसपछि अन्य थुप्रै सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउन देउसी खेलिएको छ।
(कुराकानीमा आधारित)