हामी पाँच भाइको एक जना मात्रै दिदी हुनुहुन्छ। त्यही भएर पनि तिहारमा दिदीसँग बस्न निकै रमाइलो लाग्छ। हामी दाजुभाइ र दिदीहरु जहाँ भए पनि तिहारमा एकै ठाँउमा जम्मा हुन्छौं। त्यो क्षण निकै रमाइलो लाग्छ। त्यही भएर पनि अरु चाडभन्दा तिहार मलाई विशेष मन पर्छ। दिदी एक वर्ष टीका लगाउन आउनु भएन भने त तिहार नै पुरै खल्लो हुन्छ।
सानो छँदा दिदीको हातबाट सगुनको अण्डा खानको लागि हामी ५ भाइ तिहार कुरेर बस्थ्यौँ। अन्य दिन अण्डा खाएपनि सगुनको अण्डाको मिठास नै छुट्टै हुन्थ्यो। अहिले पनि दिदीको हातबाट सगुनको अण्डा खाना पाइन्छ भनेर पनि तिहार प्रिय लाग्छ।
हामी नेवारहरुको म्हँ पूजा गर्ने चलन छ। त्यो पूजा गर्ने बेलामा दिदीले एक पटक कपाल पोलिदिनु भएको थियो। पूजा गर्ने क्रममा झुक्किएर कपाल पोलिएको थियो। तर, त्यो घटना पछि अहिले पनि मलाई दिदीले म्हँ पूजा गर्दा कपाल पोलिदिनु हुन्छ की भन्ने भन्ने डर लागिरहन्छ। पूजा सकिएपछि कतै कपाल त पोलिएको छैन नि भनेर छाम्छु।
यसपालीको तिहार मेरो लागि अझ विशेष छ। भाइ १५ वर्षपछि विदेशबाट घर आउँदैछ। उसको स्वागत गर्नु छ। भाइ आउने भएकाले यसपालीको तिहार अन्य तिहारभन्दा विशेष त छँदै छ, दिदी पनि अहिले देखि नै उत्साहित हुनुहुन्छ।
हामी सानो छँदा तिहारमा सबै दिदिबहिनीहरु जम्मा भएर घरमा सेलरोटी पकाउने गर्नुहुन्थ्यो। घर झिलिमिलि पार्नुहुन्थ्यो। घर वरीपरी बत्ती बाल्दा रमाइलो लाग्थ्यो। घरको वातावरण मनै लोभ्याउने किसिमको हुन्थ्यो। सेलरोटी पकाउँदा हामी पनि कसरी बनाउने रहेछ भनेर हेरेर बस्थ्यौँ। हामीलाई पनि बनाउन दिनुहुन्थ्यो। जस्तो आउँथ्यो त्यस्तै बनाउँथ्यौँ। हामीले बनाएको रोटी हामी आफैँ बाँडेर खान्थ्यौँ। आफैँले पकाएको त्यो सेलरोटीको स्वाद नै बढी मिठो लाग्थ्यो।
सानोमा हामी बच्चाहरु जम्मा भएर गाँउमा देउसीभैलो खेल्न जान्थ्यौँ। त्यो बेलामा पैसा दिने चलन थिएन। त्यसैले घरमा पकाएको रोटी र फलफूल दिने गर्थे। त्यो उठाउँदा रमाइलो लाग्थ्यो र देउसीभैलो सकिएपछि सबैजनाले बाँडेर खाने गथ्र्यौं।
अहिले त कामको व्यस्तताले गर्दा देउसीभैलो खेल्ने गरेको छैन। तर, परिवार सबै भेला भएर घरको काम मिलेर गर्छौं। आफूलाई जस्तो आउँछ त्यस्तै रोटी बनाउँछौं।
- (त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मनोचिकित्सक डा ओझासँग सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित)