मुख्य समाचार

संसदीय समितिमा नेसनल मेडिकल कलेजका सञ्चालक अन्सारीले भने– टिम बनाउनुस्, विदेश घुमाइदिन्छु

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत उपसमितिको बैठकमा वीरगन्जस्थित नेसनल मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्सारीले उपसमितिमा रहेका सदस्यहरुलाई विदेश घुमाइदिने प्रस्ताव राखेका छन्।

चिकित्सा शिक्षा विधेयकका विषयमा केन्द्रित रहेर उपसमितिले मेडिकल कलेज सञ्चालनका लागि मनासय पत्र (एलओआई) लिएका संस्थाका प्रतिनिधिहरुलाई छलफलमा बोलाएको थियो। छलफलमा मनमोहन, काठमाडौं नेसनल, पिपुल्स र बिएन्डसीका सञ्चालकहरु उपस्थित भएका थिए।

उक्त छलफलमा बोल्ने क्रममा नेसनलका सञ्चालक अन्सारीले उपसमितिका सदस्यहरुलाई विदेशमा घुमाइदिने प्रस्ताव राखेका हुन्। ‘विदेशका मेडिकल शिक्षाका विषयमा पनि तपाईंहरुले बुझ्न जरुरी छ,’ उनले भने, ‘तपाईंहरु टिम बनाउहोस्, म घुमाइदिन्छु। संसारभर के भइरहेको छ भन्ने कुरा तपाईंहरुले पनि हेर्नुपर्यो नि।’

अन्सारीको प्रस्तावपछि सांसदहरुबीच हाँसो फैलिएको थियो। 

उपसमितिले डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता, विधेयकमाथि परेका संशोधन र छलफलमा उठेका विषयमा आधारमा पुस ३ गतेभित्र प्रतिवेदन तयार पारी समितिमा बुझाउने तयारी गरेको छ।

समितिमा अञ्जना विशंखे, उमाकान्त चौधरी, उमेश श्रेष्ठ, एकवाल मियाँ, खगराज अधिकारी, गगन थापा, गजेन्द्रबहादुर महत, चित्रलेखा यादव, जयपुरी घर्ती, जीवनराम श्रेष्ठ, तिलबहादुर महत क्षेत्री, दुलारी देवी खत्वेनी, नवीना लामा, नमिता मुकारी चौधरी, नारायणप्रसाद मरासिनी, भैरवबहादुर सिंह, मनकुमारी जिसी, मानबहादुर विश्वकर्मा, योगेशकुमार भट्टराई, रेखा कुमारी, सन्तकुमार थारु, सुरेशकुमार राई र हितबहादुर तामाङ सदस्य छन्। समितिको सभापति भने जयपुरी घर्ती हुन्।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने