काठमाडौं - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनका लागि अनलाइन फारम भर्न सबै सरकारी कार्यालयमा ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याउने भएको छ।
समायोजनमा जाने कर्मचारीलाई सहज र सुलभका लागि हेल्प डेस्क सञ्चालन गर्न थालिएको मन्त्रालयका समायोजन शाखाका प्रमुख केदार पनेरुले जानकारी दिए। समायोजनमा जाने सबै कर्मचारीले सोही डेस्कबाट नै फारम भर्नुपर्नेछ।
उनका अनुसार मन्त्रालय, आयोग, सचिवालय, सातवटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा सो डेस्क सञ्चालन हुनेछन्।
सबै सरकारी कार्यालयमा डेस्क सञ्चालन गर्नका लागि मन्त्रालयले पत्राचार गरिसकेको छ। उनले पुसको पहिलो हप्ताभित्रमा डेस्क सञ्चालन गरिने बताए। समायोजनमा जाने कर्मचारीका लागि सबै स्थानीय तहमा बिहान ८ देखि साँझ ६ बजेसम्म डेस्क सञ्चालन हुनेछ।
मन्त्रालयले पुस मसान्तभित्र कर्मचारी समायोजन गरिसक्ने गरी आवश्यक सबै तयारी शुरु गरेको छ। अनलाइन फारम भर्नका लागि मन्त्रालयले अहिले सफ्टवेयर बनाइरहेको छ। सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा सरकारले कर्मचारी समायोजन गर्न थालेको हो। रासस