कालिकोट- स्वास्थ्यसम्बन्धी सामान्य समस्या भएपनि सुर्खेत वा नेपालगञ्ज धाउनुपर्ने बाध्यता लामो समयदेखि कर्णाली प्रदेशका जनताले भोग्दै आएका थिए। आफ्नै जिल्लामा विशेषज्ञ चिकित्सकको उपचार पाउनु सपनाभन्दा कम थिएन उनीहरूका लागि।
तर अहिले सो सपना विपनामा रुपान्तरण भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकले सेवा दिन थालेपछि छिमेकी जिल्लासहितका जनतालाई राहत पुगेको छ।
समय र आर्थिक बचतसँगै बेलाबेलामा फ्लोअप चेकअपका लागि पनि सजिलो भएको छ। जनतालाई उनीहरूकै जिल्लामा गई सेवा दिने उद्देश्यले प्रतिष्ठानले हरेक महिना कर्णालीका जिल्लामा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली पठाउने गरेको छ।
उक्त टोलीले हरेक महिना मुगु र कालिकोट जिल्लामा पुगी बिरामीको जाँच गर्ने, आवश्यक औषधि वितरण गर्ने र सामान्य शल्यक्रिया पनि गर्न थालेको छ। शिविरमा उपचार सम्भव नभएका बिरामीलाई जुम्लामै बोलाएर भएपनि थप उपचार सेवा दिने गरेको प्रतिष्ठानले जानकारी दिएको छ।
हरेक महिनाको १५ र २८ गते कालिकोट जिल्ला अस्पताल र २ गते मुगु जिल्ला अस्पतालमा प्रतिष्ठानबाट गएका विशेषज्ञसहितको स्वास्थ्य टोलीले उपचार र सामान्य शल्यक्रिया सेवा समेत उपलब्ध गराउदैं आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेख गरेको छ।
गत मंसिर २८ गते कालिकोट जिल्ला अस्पतालमा एक सयभन्दा बढी बिरामीले विशेषज्ञसहितको सेवा लिएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ प्रा डा सुनील बुढाथोकी, जनरल सर्जन डा हरिहर देवकोटा, अर्थोपेडिक सर्जन डा देवमान लिम्बू र डेन्टल सर्जन डा भुमेष काफ्लेसहितको टोलीले बिरामीको उपचार गरेका थिए।
उक्त शिविरमा हाडजोर्नी, जनरल सर्जरी र डेन्टलका गरी १९ जनाको शल्यक्रिया गरिएको थियो।
डेन्टल सर्जन डा भुमेष काफ्लेका अनुसार धेरै बिरामी हाडजोर्नीसम्बन्धी समस्या लिएर आएको बताए। त्यस्तै जुम्लामा गई शल्यक्रिया गरेका बिरामी 'फलो-अप'का लागि आउने, कुपोषणको सिकार भएका बालबालिका, हर्निया, हड्डी र पेरिकोरो नाइटिस्का (दाँतका वरिपरि मासुले पुरिएको) बिरामीको संख्या पनि उल्लेख्य भएको उनले बताए।
‘हरेक महिना शिविर आउने भएकाले बिरामीलाई फलोअपका लागि जुम्ला पुगिरहनुपर्ने बाध्यता कम भएको छ।’
बालरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, मेडिसिन र रेडियोलोजिस्टसहितको स्वास्थ्य टोली पुस २ गतेको शिविरका मुगु गएको छ।
सो टोली जुम्लाको सिञ्जामा पनि स्वाथ्य शिविर गरी फर्कने बताइएको छ। प्रतिष्ठानले सिञ्जामा नियमित रूपमा सेवा दिन एमबिबिएस चिकित्सक राख्दै आएको छ।