राजविराज– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गत बुधबार भारतको नयाँ दिल्लीमा आयोजित ‘स्वास्थ्य सम्बन्धी साझेदारी बैठक’लाई सम्बोधन गर्ने क्रममा ‘आमा सुरक्षा कार्यक्रम’मार्फत नेपालले मातृ तथा नवजात शिशु स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको बताए।
नेपालले समग्र स्वास्थ्यका कार्यक्रममार्फत मातृ तथा नवजात शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार गरेको यादवले दाबी गरिरहँदा तराईका ग्रामीण क्षेत्रमा भने आमा र बच्चाहरुको स्वास्थ्य अहिले पनि खतरामुक्त हुन सकेको छैन।
ग्रामीण क्षेत्रमा अहिले पनि प्रसुति गृहको अभाव छ। स्वास्थ्यकर्मी तथा आवश्यक उपकरण अभावमा प्रभावकारी सेवा प्रवाह हुन सकेको छैन। कार्यक्रम सञ्चालन भएका अधिकांश स्वास्थ्य संस्थामा भवन तथा उपकरणको अभाव छ। भएका भवन पनि दुरुपयोग गरिएका छन्। कतिपय ठाउँमा स्वास्थ्यकर्मीकै लापर्बाहीले आमाहरु प्रसुति सेवा लिनबाट वञ्चित छन्।
स्थानीयको पहुँचमा स्वास्थ्य संस्था र भरपर्दो सेवा नहुँदा घरमै प्रसुति गराउनेको संख्या तराईका जिल्लामा अधिक छ। यसकारण समयमा जोखिम पहिचान नहुँदा आमा र बच्चाको ज्यानै जान सक्ने खतरा पनि उत्तिकै रहेको सरोकारवालाहरु बताउँछन्।
समग्रमा हेर्दा ‘आमा सुरक्षा कार्यक्रम’ गर्भवती जाँचमा सीमित गरिएको छ। सप्तरीमा यसका प्रसस्तै उदाहरणहरु छन्, जसले प्रसुति गृहको उपयोगिता तथा आमा र बच्चाको स्वास्थ्यका विषयमा सर्वसाधारण जागरुक हुन नसकेको र सरकार पनि जिम्मेवार बन्न नसकेको प्रष्ट पार्दछ।
सप्तरीको खकड नगरपालिका–१ को सिस्वास्थित स्वास्थ्य चौकीमा प्रसुति गृह निर्माणका लागि वडा कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा करीब ८ लाख रुपैयाँ बजेट छुट्यायो। तर, गत जेठ २५ गते नै निर्माण सम्पन्न गर्नुपर्ने भवनको काम अहिलेसम्म १० प्रतिशत पनि सकिएको छैन। निर्माणको काम जग खन्ने र पिल्लरका रड ठड्याउने काममा सीमित छ। उपभोक्ता समितिले सन्तोषजनक काम गर्न नसकेको कारण देखाउँदै वडा कार्यालयले हाल निकासासमेत रोकेको छ। जसका कारण निर्माणको काम पनि ठप्प छ।
समयमा प्रसुति गृहको भवन निर्माण नहुँदा त्यसको सिंगो असर स्वास्थ्य चौकीका अन्य सेवामा पनि परेको छ। ३ कोठे साँघुरो भवनबाट ओपिडी सेवा, परिवार नियोजन, सुरक्षित मातृत्व, क्षयरोग, कुष्ठरोग, पोषण सम्बन्धी कार्यक्रम र खोप सेवा समेत सञ्चालन हुँदै आएको छ। सिनियर अहेव शिवनारायण चौधरी भन्छन्, ‘स्टोर र राखन–धरन समेत त्यसैभित्र गर्नु पर्दा साह्रै असुविधा छ।’
.jpg)
गर्भवतीको स्वास्थ्य जाँच गर्नुपर्दा भित्र बसेका अन्य सेवाग्राहीलाई बाहिर निकालेर सेवा दिने गरिएको उनले बाध्यता सुनाए। ‘प्रसुति गृहको काम पुरा नहुँदा त्योसँग सम्बन्धित मात्रै होइन, सिङ्गो स्वास्थ्य सेवा प्रभावित भएको छ’, चौधरीले थपे, ‘स्वास्थ्य संस्था नभएको वडा नम्बर २ सहित करिब ७ हजार जनसंख्यालाई सेवा दिनु परेको छ, तर कहाँ र कसरी सेवा दिने भनेर हरेक दिन योजना बनाउनु पर्छ।’
वडाध्यक्ष सिंहेश्वर मण्डलले भने चालू आर्थिक वर्षको बजेटबाट १० लाख रुपैयाँ छुट्याइएको र आवश्यकताअनुसार अन्य शिर्षकबाट पनि रकम थप गरी प्रसुति गृह निर्माणको काम सम्पन्न गर्ने बताए।
त्यस्तै, सप्तरीकै दक्षिणी भेगको कोचावखारीमा प्रसुति गृह बन्न थालेको आधा दशक बितिसकेको छ। गत वर्ष नै हस्तान्तरण भइसक्नु पर्ने भवनको निर्माण कार्य अहिले पनि सकिएको छैन। जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार उक्त भवन अहिले पनि निर्माणाधीन अवस्थामै छ। समयमा भवन तयार नहुँदा कोचावखारी र आसपासका सर्वसाधारणको अवस्था पनि सिस्वाको जस्तै छ।
समस्या सिस्वा र कोचावखारीको मात्र होइन, ९ नगरपालिकासहित १८ स्थानीय तह रहेको सप्तरीका अधिकांश क्षेत्रको अवस्था उस्तै छ। १ सय ६४ वडा रहेको सप्तरीमा हालसम्म २८ वटामा मात्र प्रसुति गृह सञ्चालनमा छन्। तिमध्ये पनि आधा दर्जनभन्दा बढी प्रसुति गृहको आफ्नो भवन छैन। जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार फत्तेपुर, पूर्व पिप्रा, पश्चिम पिप्रा, बदगामा, कल्याणपुर, बनरझुल्ला, सितापुर, कन्चनपुर, हनुमाननगर, कडरवोना, पातो, पथ्थरगढा, ब्रम्हपुर, बरमझिया, बथनाहा, तोपा र सखडामा मात्र प्रसुति गृहका लागि भवन निर्माण भएको छ।
कार्यालयका प्रशासन प्रमुख राजकुमार महतोले चालू आवमा सरकारी स्वास्थ्य संस्थाका ६ वटा नयाँ भवन निर्माण भइरहेको र त्यसमा प्रसुति गृहको समेत व्यवस्था रहेको उनले जानकारी दिए।
स्वास्थ्यका भवन दुरुपयोग
सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित स्वास्थ्य चौकीका लागि निर्मित भवन दुरुपयोग गरिएको छ। २०६८ साल बैसाखभित्र निर्माण सम्पन्न गर्नुपर्ने भवनको काम पुरा नभएपछि २०७१ असार २५ सम्मका लागि म्याद थप गरिएको थियो। तर, हालसम्म पनि भवन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छैन।
स्वास्थ्य चौकीको सो भवन अहिले वडा कार्यालय, प्रहरी चौकी र ट्राफिक प्रहरीले कब्जा गरेका छन्। स्वास्थ्य चौकीबाट सञ्चालन भइरहेको प्रसुति र अन्य स्वास्थ्य सेवा भने पुरानै साँगुरो भवनबाट सञ्चालन भइरहेको छ। भवन हस्तान्तरण गर्न पटक–पटक प्रयास गर्दा पनि सम्भव नभएको सप्तकोशी नगरपालिकाका स्वास्थ्य संयोजक जिवन साहले बताए।
जिल्ला प्रहरी कार्यालय सप्तरीले भने अस्थायी रुपमा मात्रै स्वास्थ्य भवनमा प्रहरी चौकी राखिएकाले डेढ महिनाभित्र भवन खाली गर्ने जनाएको छ। ‘प्रहरीको भवन निर्माणाधीन अवस्थामा छ, डेढ महिनाभित्र काम सकिन्छ’, सप्तरी प्रहरीका निमित्त प्रवक्ता गुरुप्रसाद तिम्सिनाले भने, ‘त्यसपछि हामी कार्यालय सार्छौं।’
.jpg)
राजविराज नगरपालिका–१, शिवथानस्थित स्वास्थ्य चौकीको भवनमा विगत एक दशकभन्दा अघिदेखि सिर्जना बोर्डिङ्ग स्कुल सञ्चालनमा छ।
बोर्डिङ्गले स्वास्थ्य संस्थाका लागि निर्माण गरिएको भान्सासहितको पक्की भवनमा २०६४ सालदेखि कक्षा सञ्चालन गरिरहेको छ। स्वास्थ्य संस्थाको भवन भाडामा लगाएपछि अहिले स्वास्थ्य चौकीको काम भने पूर्वपट्टिको अर्को ५ कोठे घरबाट सञ्चालन भइरहेको स्वास्थ्य चौकीका खरिदार रामप्रसाद दासले बताए।
विद्यालय सञ्चालन गरेवापत स्वास्थ्य चौकीले मासिक १ हजार रुपैयाँ भाडा पाउँदै आएको उनले जानकारी दिए। स्थानीयवासीले भने स्वास्थ्य संस्थाको भवन निजी विद्यालयलाई भाडामा लगाएको विषयमा विरोध जनाएका छन्। यस विषयमा पटक–पटक जानकारी गराउँदा समेत सम्बन्धित निकायले चासो नदेखाएको उनीहरुको भनाइ छ।
स्वास्थ्य चौकीका इन्चार्ज रुद्रनारायण झाले आफू आउनुभन्दा पहिलेदेखि नै भवन भाडामा लागेकाले चासो नलिएको गैरजिम्मेवार अभिव्यक्ति दिए।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य अधिकृत निरन्जन प्रसाद यादवले भने स्वास्थ्य संस्थामा सञ्चालनमा रहेको निजी विद्यालय हटाउन प्रयास भएपनि सम्भव नभएको बताए। उनले फत्तेपुरस्थित स्वास्थ्य भवन अन्य कार्यालयले प्रयोग गरेको विषयमा यसअघि कुनैपनि जानकारी नभएको जनाउँदै तक्कालै स्थानीय तहलाई पत्राचार गरी भवनको स्वामित्व ग्रहण गर्न आग्रह गरिने प्रष्ट पारे।
‘स्वास्थ्यको भवन स्वास्थ्य संस्थाले नै प्रयोग गर्न पाउनु पर्छ’, उनले भने, ‘जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पनि बोधार्थ दिएर चिठी लेख्छौं।’