प्युठान– जिल्लाको स्वास्थ्य सेवालाइ गुणस्तर र प्रभावकारी बनाउनका लागि जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ। रोल्पा र प्यूठान दुई जिल्लालाई कार्य क्षेत्र बनाएर भर्खरै स्थापना भएको कार्यालयले आफ्नै पहलमा पाठ्यक्रम तथा विषयवस्तु तय गरी जिल्लाका ९ वटै स्थानिय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा स्वास्थ्य संयोजक, सहसंयोजक, प्रशासकिय अधिकृत लगाएत स्वास्थ्य संम्बन्धी सरोकारवालासँंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो।
स्वास्थ्य सेवा सुदृढिकरण, प्राथमिकता क्षेत्र निर्धारण तथा योजना तर्जुमा सम्बन्धि अन्र्तक्रिया कार्यक्रम आइतबार जुम्रीमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय प्युठानको आयोजना तथा कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा जिल्लाका ९ वटै स्थानिय तहसँग समन्वय गरी यो कार्यक्रम गरिएको हो ।
नेपालको संबिधान २०७२को अनुसुची ८ र ९मा तोकिएको अधिकारहरुको कार्यगत बिश्लेषण तथा जिम्मेवारी बाँडफाँड अनुसार स्थानीय तहको लागि तोकिएका स्वास्थ्य सम्बन्धि कार्यहरु स्थानीय तहबाटै सञ्चालनमा आउने ब्यवस्था अनुसार प्रभावकारी स्वास्थ्य सेवा संचालनका लागि कार्यक्रमको अयोजना गरिएको कार्यक्रमका अध्यक्ष समेत रहेका जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले बताए।
स्वास्थ्यको क्षेत्रमा हाल हासिल गरेका उपलब्धी संस्थागत गर्दै राज्यले बिश्व समुदायसँग तोकेका लक्ष्य, दिगो बिकास लक्ष्य एवंम अन्य क्षेत्रगत सुधार लगाएत स्वास्थ्यलाई पनि स्थानिय विकासको महत्वपूर्ण सुचकको रुपमा आत्मसात गर्दै जनताको स्वास्थ्य सम्बन्धि अधिकारको रक्षाको लागि कार्यक्रम सञ्चालन गरिएको सुवेदीको भनाई छ।
स्वास्थ्यको विषयमा कर्मचारी र जनप्रतिनिधिहरुमा आवश्यक ज्ञान नहुँदा प्रभावकारी काम गर्न नसकेको जनप्रतिनिधिहरुले स्वीकारेका छन्। मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाले कर्मचारी र आफूहरुमा स्वास्थ्य सम्बन्धि आवश्यक ज्ञानको कमीले कार्यक्रमहरु प्रभावकारी बनाउन नसकेको स्वीकार गर्दै स्वास्थ्य सम्बन्धि बिज्ञहरुलाई राखेर कार्यक्रम बनाउने बताए।
प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले स्वास्थ्य सम्बन्धि १० वर्षे नगर गुरुयोजना तर्जुमा गरी अगाडि बढ्न लागेको जानकारी गराए।
स्थानिय तहको मातहतमा स्वास्थ्य संस्था रहेकाले स्वास्थ्य सेवा प्रभावकारी तथा गुणस्तरिय बनाउनका लागि विज्ञ सहितको टिममा आवश्यक छलफल गरि योजना तर्जुमा गर्ने ९ वटै स्थानिय तहका प्रमुखको धारणा ब्यक्त गरेका छन्।
प्युठान नगरपालिका र मल्लरानी गाँउपालिकाले स्वास्थ्य सम्बन्धि घरदैलो कार्यक्रम तत्काल शुरु गर्ने उनको भनाई छ।
मंसिर २६ गते स्वर्गद्धारी नगरपालिका र माण्डवी गाउँपालिकाको भिग्रीमा, २७ गते झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकाको मच्छीमा, २८ गते नौवहिनि गाउँपालिका, ऐरावती गाउँपालिका र सरुमारानी गाउँपालिकाको जुम्री र पुस १ गते प्युठान नगरपालिका र मल्लरानी गाउँपालिकाका प्रमुख, उपप्रमुख , प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष स्वास्थ्य, शिक्षा संयोजकको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको सहजीकरण गरेका स्वास्थ्य विज्ञ उत्तम न्यौपानेले (मेरो पहिलो बच्चा ) नामक नयाँ कार्यक्रमलाई समाजमा लागु गरे स्वास्थ्य सम्बन्धि समस्या र बालविवाहलाई रोक्न सक्ने बताए।
कार्यक्रममा स्वास्थ्य संस्थाको व्यवस्थापन, सञ्चालन, स्वास्थ्यका सूचकको अवस्था, स्वास्थ्य सेवा र अधिकार क्षेत्रहरु, हकहरु, स्वास्थ्य सेवाका निर्धारक तत्वहरु, राज्यले तोकेका लक्ष्य एवं हालसम्मको उपलब्धि बारे सहजीकरण गरिएको थियो । साथै योजना तर्जुमा ,कार्यक्रमका विषयबस्तुहरु, जिल्लामा स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका बस्तीहरुलाई पहिचान गरि स्वास्थ्यको सर्वव्यापी पहुँच गराउने उद्देश्यले स्थानीय तहसँग सहकार्य गरी यो कार्यक्रम गरेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुवेदीले बताए।
खासगरी कार्यक्रममा स्वास्थ्य सम्बन्धी मुख्य विषय बालविवाह,सुनौला हजार दिन, किशोरकिशोरी तथा यौन तथा प्रजनन् स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरु, सुरक्षित मातृत्व, परिवार नियोजन, विपत ब्यवस्थापन, पोषण तथा बृद्धि अनुगमन, स्वास्थ्य आमा समुह तथा प्रभावकारिता र महिला स्वास्थ्य स्वयम सेविकाको भूमिका र सेवा विस्तार लगाएतका बिषयमा छलफल गरिएको थियो।
कार्यक्रममा सहभागीहरुले स्वास्थ्य सबैको सरोकारको बिषय र सामुहिक मुद्धाको बिषय भएकाले सबै स्थानिय तहले स्वास्थ्य क्षेत्रमा लगानी बढाई स्वस्थ र समृद्ध प्यूठान बनाउन अग्रसर हुने सामूहिक प्रतिबद्धता ब्यक्त गरेका छन्।