पोखरा– मणिपाल अस्पताल प्रशासनले कर्मचारीलाई दिँदै आएको स्वास्थ्य सुविधा कटौती गरेको भन्दै लगाइएको ताला आइतबार खुलेको छ। उनीहरुले मंसिर २१ मा मणिपाल मेडिकल कलेजमा प्रशासनमा तालाबन्दी गरेका थिए।
अस्पताल प्रशासन र आन्दोलतरत कर्मचारीबीच २० दिनभित्र समस्या समाधान गर्ने सहमति भएपछि ताला खुलेको हो। प्रशासनले दिँदै आएको स्वास्थ्योपचारसम्बन्धी सुविधा कटौती गरेको भन्दै विभिन्न ३ कर्मचारी संगठनले संयुक्त रुपमा सिइओको कार्यकक्ष, मानव संसाधन विभाग र लेखामा तालाबन्दी गरेका थिए।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मनिपालका अध्यक्ष अमृतबाबु पौडेलले प्रशासनले बिनाजानकारी स्वास्थ्य बिमा सुविधा कटौती गरेकाले आन्दोलनमा उत्रिनुपरेको बताए। उनले भने, ‘पाउँदै आएको सुविधामा कटौती भएपछि प्रशासन बन्द गरेका हौं। अहिले सहमति भइसकेपछि खोलेका छौं।’
श्रम ऐन र स्वास्थ्य नियमावलीअनुसार पाउनुपर्ने सुविधाबाट बञ्चित गरिएकाले आफूहरु आन्दोलनम उत्रिनुपरेको उनीहरुको गुनासो थियो। मणिपाल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीले अस्पतालमा कार्यरत कर्मचारीले स्वास्थ्योपचारबाट पाउँदै आएको सुविधा बिनासूचना कटौती गरेको बताए।
मनिपाल शिक्षण अस्पताल प्रशासनले भने कर्मचारीले पाउँदै आएको सुविधा दुरुपयोग गरेकाले बन्द गर्नुपरेको जनाएको छ। केही कर्मचारीले दुरुपयोग गरेकोमा सबै कर्मचारीको सुविधा कटौती गरेको कार्यरत कर्मचारीले बताए।