काठमाडौँ— लुकेर रहेका एचआइभी संक्रमितहरुलाई उपचारको पहुँचमा ल्याउन महिला स्वास्थ्य स्वयंसेविकाले सहयोगी भूमिका खेल्ने भएका छन्।
कोही पनि संक्रमित बिरामी उपचारबाट बञ्चित नहुन् भन्ने उद्देश्यले यस्ता बिरामी पत्ता लगाउने जिम्मेवारीमा महिला स्वास्थ्य स्वयम्सेविकालाई खटाउन लागिएको हो।
एचआइभी संक्रमित भई औषधि सेवन ( एआरटी ) गरिरहेका ६० जिल्लामा नयाँ बिरामी पत्ता स्वास्थ्य स्वयम्सेविकालाई प्रति बिरामी एक हजार रुपैयाँ प्रोत्साहन स्वरुप दिइनेछ।
६० जिल्लाका ७५ स्थानीय तहका लागि ३० लाख ७५ हजार रुपैयाँ छुट्टाएको छ । जसअनुसार एक स्थानीय तहले ४१ हजार रुपैयाँ बजेट पाएका छन्।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका सूचना अधिकृत वीरबहादुर रावलले यो कार्यक्रम यसै आर्थिक वर्षबाट सुरु भइसकेको बताए।
उनले भने, ‘अझैपनि लुकेर रहेका बिरामी पत्ता लगाई उपचारमा ल्याउन नयाँ कार्यक्रम ल्याइएको हो, यस्तो केस गाउँघरमा अझै धेरै छन्।’
महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रत्येक घरका सदस्यबारे अरुलाईभन्दा धेरै जानकारी हुने भएकाले लुलेका धेरै बिरामी उपचारको पहुँचमा आउने विश्वास गरिएको उनले बताए।
केन्द्रले स्थानीयस्तरमा लुकेर रहेका बिरामी पत्ता लगाउन महिला स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गर्ने कार्यक्रम स्थानीय तहलाई कार्यक्रम दिएको हो।
सन् २०१७ सम्म नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण भएको अनुमान छ । तीमध्ये १८ हजार २० पुरुष र १२ हजार महिलाको संख्या रहेको केन्दको भनाई छ।
केन्द्रका निर्देशक डा तारानाथ पोखरेलका अनुसार तीमध्ये १५ देसि ४९ वर्ष उमेरसमुहमा व्यक्तिमा एचआइभीको व्यापकता दर ०.१५ प्रतिशत अर्थात पछिल्लो समय प्रति एक हजारमध्ये दुई जनामा संक्रमण देखिएको छ । यो दर २००४ मा ०.५ प्रतिशत थियो।
निर्देशक पोखरेलले संक्रमितमध्ये धेरैलाई असुरक्षित यौनसम्र्पकका माध्यमबाट सरेको पाइएको बताए । सुईद्वारा लागूपर्दाथ प्रयोग गर्नेहरु, यौनकर्मीहरु, पुरुष समलिङ्गि यौनकर्मी तथा तेस्रो लिङ्गि यौनकर्मीहरु, रोजगारीका लागि विदेशिनेहरु, जेलका कैदीहरु संक्रमणको उच्च जोखिममा रहेका समूह हुन् । यीमध्ये पनि सुईद्वारा लागूपर्दाथ प्रयोग गर्नेहरु र पुरुष समलिङ्गि यौनकर्मीमा एचआइभी संक्रमणको दर अरुभन्दा जोखिममा रहेका अन्य समूहभन्दा उच्च छ।