काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका ६ सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ। मन्त्रालयले फाजिलमा रहेका कर्मचारीको व्यवस्थापनका लागि जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्री उपेन्द्र यादवले बिहिबार जिम्मेवारी हेरफेरको निर्णय गरेका हुन्।
फाजिलमा रहेका सहसचिव रमेश अधिकारीलाई व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उक्त महाशाखामा रहेका मोहम्द दाउदलाई भने प्रदेश ३ को स्वास्थ्य निर्देशनालय प्रमुखको रुपमा सरुवा गरिएको छ।
प्रदेश ३ निर्देशनालयमा रहेका डा यदुचन्द गौतमलाई रौतहट जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रुपमा जिम्मेवारी दिइएको बताइएको छ।
यस्तै खिमबहादुर खड्कालाई गण्डकी प्रदेशको निर्देशनालयमा खटाइएको छ। गण्डकी निर्देशनालयका निर्देशक डा तारा पौडेल घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको थियो। त्यसपछि निर्देशक पद खाली थियो।
यसैगरी, प्रदेश ५ को स्वास्थ्य निर्देशनालयमा दिनेश चापागाईंलाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
प्रदेश नं ५का स्वास्थ्य प्रमुख विनोद गिरीलाई नुवाकोट जिल्ला अस्पतालमा सरुवा गरिएको छ।