काठमाडौं— आजकल स्वास्थ्य मन्त्रालयमा भिडभाड छ। भिडभाड पनि किन नहोस्, मन्त्रालयमा दुई सचिव जो छन्।
मन्त्रालयभित्र छिर्ने सबैका आ–आफ्नै काम छन्, उद्देश्य छन्। कोही सचिव डा पुष्पा चौधरीलाई भेट्न आएका छन्। कोही अर्का सचिव केदारबहादुर अधिकारीलाई कुरिरहेका छन्।
कर्मचारी समायोजन ऐन आएपछि असन्तुष्ट कर्मचारीको ठूलै हुल आइतबार डेलिगेसनका लागि सचिवको कार्यालयमा छिरेको थियो। जिल्लाबाट काम लिएर आएका कर्मचारी र सर्वसाधारणको भीड पनि उस्तै छ मन्त्रालयमा।
तर, कर्मचारी र सेवाग्राहीको भिडभाड बढ्दै जाँदा पनि दुई सचिव भएको मन्त्रालयमा आइतबार दिउँसो अबेरसम्म एउटा सचिव पनि पुगेका थिएनन्।
हातमा फाइल लिएर सचिवलाई भेट्न पुगेका मन्त्रालयका कर्मचारी फर्किरहेका थिए। ‘आज त दुवै सचिव आउनुभएको छैन, कुन चाहिं सचिव आउनुहुने हो’ भन्दै एक कर्मचारी बाहिर निस्के।
कार्यालय समयभन्दा केही समय ढिला गरी सचिव डा चौधरीको आगमन भयो। तर, हाजिर गरेर सचिवको कक्षभित्र छिर्दै नछिरी मन्त्री भेट्न भन्दै उनी मन्त्रीको कक्षतिर लागिन्।
त्यसको केही समयमै अर्का सचिव केदारबहादुर अधिकारी सचिव कक्षमा छिरे। ‘सरकार र उहाँबीचको विवादमा मेरो भन्नु केही छैन, सरकारको निर्देशन मलाई मन्जुर छ,’ सचिव अधिकारी भन्दै थिए।
गएको शुक्रबार उनी आइपुग्नुअघि नै डा चौधरी आएर कुर्सीमा बसेपछि अधिकारी मन्त्रालयबाट बाहिरिएका थिए।
आज आइतबार भने सचिव अधिकारीले काम सुरु गरिसकेका थिए।
शुक्रबार कुर्सीमा बस्न नपाएका अधिकारी आइतबार भने सचिव चौधरी मन्त्री कक्षमा गएको समयमा सचिव कक्षमा पुगेर कुर्सीमा बसेका हुन्।
मन्त्रीलाई भेटेर निस्केपछि सचिवको कुर्सीमा अधिकारी बसेको थाहा पाएपछि डा चौधरी मन्त्रीका सल्लाहकार डा केके राईको कोठा छिरिन्।
यतिबेला मन्त्रालयमा दुई सचिवको व्यवस्थापन कसरी हुन्छ भन्नेमै सबैको चासो छ। ‘मन्त्रीसँग के कुरा भयो’ भन्ने प्रश्नमा डा चौधरीले भनिन्, ‘आज छोटो कुराकानी भयो, एक÷दुई दिनमा टुङ्गो लाग्छ होला।’
सरकारले स्वास्थ्य सचिवको दरबन्दी प्रधानमन्त्री कार्यालयमा सिर्जना गरिएको पत्र अनौपचारिक रुपमा आफूले पनि देखेको उल्लेख गर्दै उनले त्यसो भएर आफूलाई प्रधानमन्त्री कार्यालय तानिए नजाने बताइन्।
‘म मान्दिनँ, सरुवा गर्नुभन्दा पहिले त्यो पद सिर्जना गरिएको होइन, अदालतले मलाई यथास्थितिमा काम गर्न दिनु भनेको छ, अन्यत्र मलाई स्वीकार्य हुँदैन,’ उनले भनिन्।
अदालतको आदेशपछि नयाँ पद सिर्जना गरिएकोले अदालतको आदेशको के हुन्छ भन्ने प्रश्नमा अदालतको निर्णय हुनुअघि भएको हो भने त्यो लिगल नभएको उनको भनाइ छ।
मन्त्रालयमै स्वास्थ्य र जनसंख्यामा गरी दुई सचिव राख्ने सम्भावनाबारे स्वास्थ्य सचिवबाट अन्यत्र नजाने अडानमा उनी छिन्।
अहिले स्वास्थ्य मन्त्रालयमा एकखाले रमिता छ। प्रशासनतर्फका सचिव अधिकारीले जिम्मेवारी सम्झालिरहेका छन् भने अदालतबाट आदेश पाएपछि आदेश हातमा बोकेर चौधरी पनि कहिले सचिवको कुर्सीमा बस्छिन् त कहिले मन्त्रीलाई भेटेर घर फर्किन्छिन्।
गत सोमबार सर्वोच्च अदालतले स्वास्थ्य सचिवमा डा पुष्पा चौधरीलाई नै निरन्तरता दिन आदेश गरेपछि चौधरी र अधिकारीबीच सचिवको कुर्सी ‘म्युजिकल चेयर’ खेल जस्तो भएको छ।