काठमाडौं – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिवलाई नै राख्ने तयारी अगाडि बढाएको छ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रालयमा स्वास्थ्यको प्राविधिक सचिवका रुपमा डा पुष्पा चौधरी र जनसंख्या तथा प्रशासन हेर्ने गरी केदारबहादुर अधिकारीलाई जिम्मेवारी दिइने जानकारी दिएका हुन्।
मन्त्री यादवलाई ज्ञापन पत्र बुझाउन पुगेका नेपाल चिकित्सक संघको टोलीलाई मन्त्री यादवले दुई वटा सचिव राख्ने गरी जिम्मेवारी तोक्न निर्देशन दिइसकेको बताएका हुन्।
‘अब स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव रहनुहुन्छ,’ मन्त्री यादवको भनाई उद्धृत गर्दै संघका महासचिव डा लोचन कार्कीले भने, ‘दुवै सचिवका लागि कोठा मिलाउन निर्देशन दिइसकिएको छ। अब डा चौधरी स्वास्थ्यको र अधिकार प्रशासन तर्फको सचिव हुनुहुन्छ।’
मन्त्री यादवले प्रधानमन्त्री कार्यालयमा स्वास्थ्यकर्मी सचिवको दरवन्दी राखेको विषय सच्याइने पनि जानकारी दिएका छन्।
सरकारले डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि संघले आन्दोलनको चेतावनी दिएको थियो। स्वास्थ्य ऐन विपरित दरवन्दी नै नभएको स्थानमा सचिव चौधरीलाई सरुवा गरेपछि चौधरी सर्वोच्च पुगेकी थिइन्।
सरकारले यो विषयलाई तत्कालै समाधान गर्ने भन्दै मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य सचिवको दरवन्दी र स्वास्थ्य मन्त्रालयमा प्रशासनको सचिव राख्ने निर्णय समेत गरेको थियो।
संघका प्रतिनिधिले यो निर्णयको विरोध र अदालतको आदेशको सम्मान गर्न मन्त्रीलाई ध्यानाकषर्ण गरेका हुन्। मन्त्री यादवलाई बुझाएको ज्ञापनपत्रमा सर्वोच्च अदालतले स्वास्थ्यसचिवको सरुवा तथा गैरस्वास्थ्यकर्मीलाई स्वास्थ्यसचिवका रूपमा मन्त्रालयमा सरुवा गरिएको सम्बन्धमा गरेको निर्णयको उच्च सम्मान गर्दै विधि र विधानअनुरूप कानुनी राज्यको पालना गर्न ध्यानाकर्षण गराइएको उल्लेख छ।