रुपन्देही –सडकमा रहेका मानसिक रोगीहरुलाई मानवसेवा आश्रमले पालन पोषण गर्ने भएपछि उपचारको सम्पूर्ण जिम्मा सामाजिक विकास मन्त्रालयले गर्ने बताएका छन्। प्रदेश नं ५का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मन्त्रालयले उपचारमा सहयोग गर्ने बताएका हुन्।
बुटवलमा हेटौंडामा रहेको मानव सेवा आश्रमले सडकका मनोरोगी र बेसाहारा लगायतलाई राख्ने र पालन पोषण गर्ने गरी आश्रम सेवा सुरु कार्यक्रममा बोल्दै मन्त्री बरालले यस्तो बताएका हुन्।
उनले आश्रमलाई पैसाको अभावमा बन्द हुन नदिने प्रतिबद्धता जनाएका छन्। गत वर्ष पनि मन्त्रालयले बजेट बिनियोजन गरेको र यस वर्षपनि गरेको बताएका छन्। सामाजिक विकास मन्त्री बरालले बुटवलको पाखापानीमा रहेको एक बेवारिसे अवस्थालाई कपडा लगाई कार्यक्रम सुरु गरेका थिए।
कार्यक्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेसु डा कृष्ण खनालले बेवारिलाई अस्पताल छाडिदिने र उपचार गरेपनि उनीहरु वाहिर नजाने भएकोले समस्या भएको थियो अब आश्रम भएपछि समस्या हटेको बताए। आफूहरुले अब सहकार्य गरेर उपचार गर्ने बताए।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरप्रमुख सुवेदीले मानवताको सहरको रुपमा परिकल्पना गरेअनुसार यो अभियानलाई अघि बढाइने बताए। उनले नगरपालिकाले यो कार्यमा सबै प्रकारको सहयोग गर्ने बताए।
आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानव कल्याण नै सबैभन्दा ठूलो धर्म भएकाले यस्तो प्रकृतिको अभियानको थालनी बताए । अध्यक्ष अधिकारीले २०८२ भित्रै नेपाल देशलाई नै कोही पनि मानिस भोकै र नाङ्गै सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने राष्ट्रको रुपमा निर्माण प्रतिबद्वता जनाए।
बुटवलको गोलपार्कमा विगत ४÷५ बर्षदेखि बेवारिसे भई कष्टपूर्ण जीवनयापन गरिरहेकी अन्दाजी ४२ वर्षीय मनोरोगी महिला र लामो समयदेखि बुटवल बसपार्क क्षेत्रमा दुवै खुट्टा घाउले विग्रिएर वेवारिसे बनेका अन्दाजी ३५ वर्षीय अपाङ्ग युवा लगायत ५ जनाको उदार गरि आश्रम राखिएको घिमिरेले बताए।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जनआन्दोलनमा घाइते हरुको उपचार गर्न संकलित रकम ८ लाख बाँकी रहेकोमा अरु अस्पताललाई दिएको भएपनि ५० हजार आश्रमलाई दिएको बताए।
घरपरिवार तथा समाजबाटै बहिष्कार भइ खुला आकाशमूनी रात विताउन विवश व्यक्तिहरुलाई आश्रममा गृहप्रवेश गराउने निति रहेको आश्रमका महासचिव तथा ५ नं. प्रदेश संयोजक सुशीला केसीले बताइन्। बुटवल अन्य ठाउँमा पनि खोजी गर्ने कार्य जारी छ। धेरैजसो मनोरोगी, शारिरका रुपमा अशक्त पनि छन्, जो सडकमा जीवन बिताएका रहेको उनले बताइन्।
हाल मानवसेवा आश्रम ६ प्रदेशमा ११ जिल्लामा १४ स्थानमा सञ्चालित छ । यसै वर्षभित्र सात ओटै प्रदेशमा आश्रमको सेवा सञ्जाल विस्तार गर्ने अधिकारीले बताए।