काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले उपचार शिर्षकका नाममा सरकारले ४ करोडभन्दा बढी रकम वितरण गरेको भन्दै संसदीय समितिमा ध्यानाकर्षण गरेका छन्।
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसद थापाले सरकारले उक्त रकम कसलाई कति–कतिका दरले वितरण गरेको हो, सार्वजनिक गर्नुपर्ने माग गरेका हुन्। समितिमा सांसदहरुमाथि ध्यानाकर्षण गर्दै सांसद थापाले उपचार शिर्षकमा रकम दुरुपयोग भइरहेको हुनसक्ने भन्दै सबैको नाम सार्वजनिक गर्नुपर्ने बताएका हुन्।
जनस्वास्थ्य ऐनले विदेशमा उपचार गर्न जानेलाई सरकारले कुने पनि आर्थिक सहयोग नगर्ने व्यवस्था रहेको छ। सांसद थापाले समितिबाट नै पास भएर गएको उक्त ऐनविपरीत उपचार शिर्षकका नाममा सरकारी कोषको रकम दुरुपयोग भएको गुनासो आइरहेकाले सबैको नाम सार्वजनिक गर्न माग गरेका हुन्।
‘उपचार शिर्षकमा मात्र सरकारले ४ करोड रकम बाँडिसकेको भन्ने गुनासो बाहिर आइरहेको छ,’ उनले भने, ‘सरकारी ढुकुटीको उक्त रकम कसलाई दिइयो, ती व्यक्तिले कहाँ उपचार गरे? सबै सार्वजनिक गर्नुपर्छ।’
जनस्वास्थ्य ऐन असोज ३ गतेदेखि कार्यान्वयनमा आएको छ। उक्त ऐनमा कुनैपनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्दा सरकारले खर्च नब्यहोर्ने व्यवस्था छ।
विगतमा सरकारले वर्तमान तथा पूर्व विशिष्टलाई सरकारी कोषबाट विदेशमा उपचार गर्न आर्थिक सहयोग गर्दै आएको थियो। तर, असोजदेखि लागू भएको जनस्वास्थ्य ऐनअनुसार कोही पनि व्यक्तिलाई राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्न सरकारले खर्च दिन पाउने छैन।