राजविराज– सप्तरी सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भारतीय लगानीमा निर्माणाधीन प्रसुति गृह भवन निर्माणको ठेक्का रद्द हुने भएको छ। ठेक्का रद्द गर्न काठमाडौंस्थित भारतीय दूतावासमा फाइल पठाई सकिएको अस्पतालले जानकारी दिएको छ।
म्याद सकिएको वर्षौं बितिसक्दा पनि ठेकेदार कम्पनीले निर्माणको काम अघि नबढाएपछि ठेक्का रद्द प्रक्रिया सुरु गरिएको मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए। दुई हप्ताअघि नै दूतावासमा फाइल बुझाइएको उनको भनाइ छ।
सन् २०१० को जनवरी (२०६६ माघ) भित्रै सम्पन्न गर्नुपर्ने प्रसूति तथा आकस्मिक कक्ष निर्माणको काम वर्षौंदेखि अलपत्र छ। दिवा नरेन्द्र उदाय दास जेभिले २ करोड २३ लाख ४४ हजार रुपैयाँमा ठेक्का लिएको निर्माणको काम अक्टोबर २००७ (२०६४ कात्तिक) मा सुरु भएको थियो।
योजना सम्पन्न गर्नुपर्ने समय सकिएको वर्षौं बितिसक्दा पनि निर्माणको काम अघि नबढेपछि ठेक्का रद्द गर्नुपर्ने बाध्यता भएको दासले बताए। ‘एकातर्फ अस्पतालमा सेवा थप गर्न भवन अभाव छ, अर्कोतर्फ निर्माण कार्य अलपत्र छन्’ दासले भने, ‘यथास्थितिमा काम गर्न नसक्ने अवस्था आएपछि ठेक्का रद्द गर्ने प्रकृया सुरु गरिएको हो।’
ठेकेदार कम्पनीले भने स्टिमेट नै गलत भएकाले भवन निर्माणको काम पूरा गर्न नसकिएको बताएको छ। ‘स्टिमेट सच्याउन हामीले पटक–पटक अनुरोध गर्यौं,’ कम्पनीका प्रतिनिधि अरुण प्रधानले भने, ‘तर, तत्कालीन जिल्ला विकास समितिले सुनुवाई नै गरेन।’
हालसम्म भएको कामको मूल्यांकन गरी भुक्तानी गरेर ठेक्का रद्द गर्न आफूहरूले नै सहमति दिएको उनले जानकारी दिए।
यता, अलपत्र र अधुरो भवन पूरा गर्न स्वास्थ्य मन्त्रालयले बजेट पनि छुट्याएको मेसु दासले जानकारी दिए। सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय मार्फत अधुरा काम सम्पन्न गर्ने गरी ठेक्का आह्वानको तयारी भइरहेको उनको भनाइ छ।
डिभिजन कार्यालयका प्रमुख रमेश थिङले प्रसुति गृहको निर्माणाधीन भवन सम्पन्न गर्न ठेक्का लगाउने तयारी भइरहेको बताए। ‘बजेट आउने पक्का छ, तर आइसकेको छैन,’ उनले भने, ‘आएपछि ठेक्का लगाएर काम सुरु हुन्छ।’