रुपन्देही- कपिलवस्तुस्थित शिवराज नगरपालिका-११ थुन्हिया स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा कार्यरत अनमी उषा के.सी.माथि सोमबार राती कुटपिट भएको छ। राती करिब ११ बजे स्थानीय मोहबुज मुसलमानले स्वास्थ्य चौकीको ढोका फोरेर कुटपिट गरेको पीडित केसीले बताएकी छन्।
पीडित केसीले केही दिनअघि वडा अध्यक्ष रामेश्वर बर्मालाई पीडक युवाको व्यवहारबारे जानकारी गराएको भएपनि वडाध्यक्ष गम्भीर नबनेकाले हिंसात्मक घटना भएको समेत उनले दाबी गरेकी छन्।
कुटपिटबाट रात्रीकालीन सिफ्टमा ड्युटीमै रहेकी अनमी केसीको बायाँ हात भाचिएको छ। अबेर राती ढोका ढक्ढक्याएर बर्थिङ सेन्टरभित्र मुसलमानले छिर्नेबित्तिकै अनमी केसीले वडा अध्यक्षलाई फोन गरी जानकारी गराएको भएपनि आधा घण्टापछि मात्रै स्थानीयसहित अध्यक्ष आएको बताएकी छन्।

केसीमाथि कुटपिट गरी फरार रहेका मुसलमानलाई वडा प्रहरी कार्यालय चन्दौटाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षले दिने जाहेरीका आधारमा कानुन बमोजिम मुसलमानलाई कारबाही गरिने प्रहरीले जनाएको छ।
अनमी केसिमाथी भएको कुटपिटको विरोधमा शिवराज नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले विरोध जनाएका छन्। कर्मचारीले वडा नं. ५ को सभाहलमा विरोधसभा आयोजना गरी कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरी पीडकलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका हुन्।
अर्को व्यवस्था नहुन्जेलसम्म अनमी केसी कार्यरत बर्थिङ्ग सेन्टर बन्द रहने र नजिकैको चनई स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रवाह गरिने शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले बताए।