‘महान’ फिल्मको झन्डै एक महिनाको सुटिङका लािग अमिताभ बच्चन, जया र छोरा अभिषेकसँगै काठमाडौं आएका थिए र उनीहरु एभरेष्ट होटलमा बसेका थिए। होटल एभरेष्टका मालिक मस्कुर अहमद (एमए) लारी–दम्पत्ती र तीन छोरा मेरो स्वास्थ्य देखरेखमा थिए। लारी होटल एभरेष्टसँगै टाँसिएको भाडाको घरमा बस्थे। एक साँझ बिरामी जाँच्न उनको गाडीमा म उनको बासस्थानमा आउने क्रममा बाहिर सडकदेखि होटलको प्रवेशद्वारसम्म हूल देख्दा मैलै कौतूहलवश ड्राइभरलाई सोधेँ ‘यो केको हूल हँ?’
‘हजुर, अमिताभ बच्चन फिल्म सुटिङका लागि काठमाडौं आएका र सुटिङबाट फर्किने बेला भएकाले उनलाई हेर्न भीड जम्मा भएको।’ ड्राइभरले जवाफ दिए।
भीडमा धेरैजसो अल्लारे युवक–युवतीहरु थिए। अरुण इम्पोरियममा ब्रान्डेड विदेशी सामानहरु किन्न अमिताभ पसेका विनयसाहूलाई पनि थाहा भएछ। जनसम्पर्क र व्यापारिक कला–कौशलमा माहिर उनी पनि किन चुक्थे! मौकाको फाइदा लिन उनी पुगे अमिताभलाई भेट्न एभरेष्ट होटलमा, राती ९ बजे–टेलिभिजन, डेक र कैसेटसहित। रिसेप्सनिष्टलाई आफ्नो कार्ड दिँदै मनोरञ्जनका लागि सिंगापुरबाट झिकाइएको अत्याधुनिक सञ्चार उपकरण लिएर पूर्वसमय लिई भेट्न आएको कुरा सुनाए।
भेटको चाँजोपाजो एक जना उच्च पदस्थ व्यक्तिले मिलाएका थिए र होटल मालिक लारीले पनि भेटाउन सहयोग गरेका थिए।
बोलाहट भएपछि उनी पुगे अमिताभको कोठामा अत्याधुकि महँगा मनोरञ्जन उपकरणसहित होटेलका अधिकारीका साथ। केठामा पुगेपछि बच्चन–दम्पत्तीले बाहिर आई उनको स्वागत गरे।
‘आप लोग सुटिङके लिए काठमाडौं आए हैं। कुछ दिन तो रहेंगे ही। समय बितानेके लिए हम आप लोगो के मनोरञ्जन के लिए लेटेस्ट टिभी, डेक, क्यामेरा लाए है। आप जब तक यहाँ है, अपना ही समझ रख लिजिए!’ भनेपछि बच्चन दम्पत्ती उनको यो आत्मीयताले गद्गद भएछन्।
‘थैंक यू!’ भन्दै समय काट्न मनोरञ्जनको सामग्री ग्रहण गरेछन्।
मौकाको फाइदा उठाएर उनले अमिताभलाई आफ्नो घरमा दिवा भोजका लागि गरेको निमन्त्रणासमेत अमिताभलाई सहर्ष स्वीकार्य बनाएछन्।
सुटिङ नभएको दिन घरमा दिउँसोको खाना खान आउन स्वीकार गरेपछि विनयले मेरो परिवारलाई पनि दिवा–भोजमा सामेल गराए। मेरा जेठा छोरा रवि अमिताभ बच्चनका ठूूला फ्यान थिए। उनलाई अमिताभद्वार अभिनित हरेक फिल्मको नाम कण्ठस्थ थियो।
सुनेपछि अमिताभ छक्क परे। उनीहरुको बीच विभिन्न कुराकानी समेत भएको थियो।
विनयले अमिताभ बच्चनसँग हाम्रो पारिवारिक मित्र र चिकित्सक भनी मेरो परिचय गराए।
‘बम्बई आए तो हम से जरुर मिलिएगा डाक्टर साहेब!’ अमिताभको मलाई अनुरोध थियो।
जरुर! लेकिन क्या आपका गार्ड हमें गेट से अन्दर घुसने देगा?’ मैले ठट्यौली गरेँ।
‘क्यों नहीँ?’ हमारा गार्ड नेपाली है, नेपाली मे बात करना, हम उनके दोस्त है बोल्ना!’ उनी गललल्ल हाँसे।
ऋमिताभ बच्चनका पिता हरिवंश राय बच्चनले मेरा पूज्य दाज्यू ईश्वर बरालको मुक्तकण्ठले प्रशंसा गरेका थिए र भनेका थिए– ‘नेपालमा त के भारतमा पनि ईश्वर बारलको उचाइमा उनको नजरमा कोही समालोचक छैन।’ यो कुरा उनलाई सुनाएँ। उनी झन हर्षित भए।
उनका पुत्र अमिताभलाई भेट्न पाउँदा हामीलाई अत्यन्त आनन्दित तुल्याएको थियो।
-(डा बरालको हालै बजारमा आएको किताब नियति र अनुभूतिबाट)