नेपालका स्टार फुटबलर रोहित चन्द सन् २०१५ मा मलेसियन क्लबबाट खेल्दा घाइते भए। घाइते हुँदाहुँदै पनि एक खेल खेले। तर उनको खुट्टामा लागेको चोट बल्झियो। चिकित्सकको सल्लाहमा तत्काल क्वालालम्परको एक अस्पतालमा उनको शल्यक्रिया गरियो। एक महिनापछि नेपाल फर्किएका रोहित ११ महिनापछि मैदान फर्किए।
इन्डोनेसियन क्लब पेर्सिजना जाकर्तामा आवद्ध भएका रोहित सन् २०१८ को इन्डोनेसिय लिग वानको सर्वोत्कृष्ट खेलाडी घोषित भए। ११ महिना उपचारमा बिताएका रोहितले २४ महिनापछि जीवनकै ठूलो सफलता पाउनुको कारण स्पोटर््स मेडिसिनको उत्तम प्रयोग थियो।
रोहितले विदेशमा उपचार गराउँदा उनी स्वभाविक खेलमा फर्किए। नेपालमै घाइते भएको भए उनको वैज्ञानिक उपचार यहाँ सम्भव थिएन। किनकि नेपालमा स्पोर्ट्स मेडिसिन बामे सर्दै गरेको अवस्थामा छ। राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेको खेलकुद चिकित्सा तथा अनुसान्धान केन्द्र स्पोर्ट्स मेडिसिनको विषयमा काम गर्ने एक मात्र सरकारी संस्था हो। केन्द्रले स्पोर्ट्स मेडिसिनको महत्वबारे खेलाडीलाई र संघलाई बुझाउने काम गरिरहेको छ।
‘स्पोर्ट्स मेडिसिनको विषयमा अब नेपाली खेलाडी र संघले राम्रोसँग बुझ्न जरुरी छ। जसले गर्दा खेलाडीको प्रदर्शन र नतिजामा सकारात्मक प्रभाव पर्छ,’ केन्द्रमा कन्सल्ट्यान्टको रुपमा आबद्ध डा ज्ञानेन्द्र शाह भन्छन्। भारतको पटियलास्थित नेसनल इन्स्टिच्युट अफ स्पोर्ट्सबाट स्पोर्ट्स इन्जुरिज कोर्ष गरेका अर्थोपेडिक सर्जन शाह विगत पाँच वर्षदेखि केन्द्रमा आबद्ध भएर काम गरिरेका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक्स एन्ड ट्रमाटोलोजीमा स्नातकोत्तर गरेका उनी खेलकुदमा विशेष रुची भएका खेलाडीलाई पछ्याइरहेका हुन्थे। केही खेलाडीले घाइते भएका कारण बीचमै खेल जीवन त्यागेको देखेपछि भने डा शाहलाई खेलकुदमा आफ्नो क्षमता प्रयोग गर्नुपर्छ भन्ने लाग्यो। तत्काल उपचार नहुँदा खेल नै छाड्नु पर्ने अवस्था थियो। चिकित्सक र स्वास्थ्यकर्मीको अभावले गर्दा उनी खेललाई निरन्तरता दिन सक्दैनथे।
‘मलाई भने तुरुन्तै उपचारमा गराउन सकिन्छ भन्ने लाग्थ्यो,’ शाहले खेलकुदमा लाग्नुको कारणबारे भने। बाहिर देशतिर सबै संघमा आ–आफ्नो डाक्टर आफ्नै फिजियोथेरापिस्ट हुन्छन्। तर हाम्रो देशमा यस्तो व्यवस्था छैन। त्यसैले उनी खेलकुद चिकित्सा तथा अनुसान्धान केन्द्रमार्फत भए पनि खेलाडीको उपचार गर्ने उद्देश्यका साथ खेलकुद क्षेत्रमा भित्रिए।
आफूले पढेको विषयका बढी केसहरु खेलकुदमा हुने भएकाले पनि उनी खेलकुदतर्फ नजिकिनुको अर्को कारण हो। त्यसैले २०७० देखि उनी खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा निरन्तर काम गरिरहेका छन्। केन्द्रमा काम गरिरहँदा उनले नेपालले भाग लिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको मेडिकल टिम रहेर काम गरिसकेका छन्।
उनीसँग सन् २०१४ मा दक्षिण कोरिया र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपाली खेलाडीको उपाचारका लागि मेडिकल टिममा रहेर काम गरेको अनुभव छ। यस्तै सन् २०१६ मा भारतमा भएको दक्षिण एसियाली खेलकुद (साग )मा उनी राष्ट्रिय फुटबल टिमको मेडिकल टिममा रहेका थिए। त्यतिबेलाका कप्तान विराट महर्जनदेखि विमल घर्तीमगरले मेडिकल टिमको प्रशंसा गरेको डा शाह अहिले पनि सम्झन्छन्। फुटबल टिमले फाइनलमा भारतलाई हराएर २३ वर्षपछि साग फुटबलमा स्वर्ण जितेको थियो।
खेलसँग आकर्षण भएर खेलकुद चिकित्सा तथा अनुसान्धान केन्द्रमा उनी भित्रिँदा अवस्था दायनीय थियो। स्वस्थ्यकर्मीको अभाव हुँदा खेलाडीहरु बाहिर धाउनुपर्ने अवस्था थियो। खेलाडीहरु स्पोर्ट्स मेडिसिनको बारेमा जानकार थिएनन्।
‘खेलाडीहरु बाहिर अस्पतालमा उपचार गराउँदा नर्मल रुपमा उपचार गराउँथे। उनीहरुले आफ्नो परिचय राम्रोसँग नदिँदा डोपिङमा असर गर्ने औषधिबारे ख्याल हुँदैनथ्यो,’ डा शाह भन्छन्।
यस्तो अवस्था देखेपछि शाह र केन्द्रमा रहेका स्वास्थ्यकर्मीले खेलाडीमा स्पोर्ट्स मेडिसिनबारे ज्ञान फैलाउन थाले। ‘स्पोर्ट्स इन्जुरी र प्रिभेन्सनको विषयमा प्रशिक्षण दिन थाल्यौं। प्रशिक्षक, खेलाडी र संघका पदाधिकारीलाई खेलकुदलाई लक्षित गरेर प्रतिबन्धित औषधि, एन्टी डोपिङसम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन ग¥यौं। पोषण र प्राथमिक उपचारको बारेमा पनि कक्षा सञ्चालन गरेका थियौं। जसले केही हदसम्म खेलाडी, प्रशिक्षक र पदाधिकारीमा स्पोर्ट्स मेडिसिनबारे जानकारी भएको छ र उनीहरु सचेत हुन थालेका छन्,’ उनी भन्छन्।
चोटपटक लाग्ने समस्या खेलकुदमा धेरै हुने गरेको उनको अनुभव छ। खेलाडीले लिगामेन्टको समस्या र फ्याक्चर धेरै बेहोर्छन्। खेलाडीलाई सबैभन्दा बढी घुँडामा चोट लाग्ने गर्छ। यस्तै कुम डिसलोकसेन हुने समस्या हुने गरेको छ। कसै–कसैको गोलीगाँठोमा चोट लाग्ने तथा कसैको पेटमा बढी दबाब पर्दा भित्री अंकमा पनि चोट लाग्ने गरेको छ। पिडुँला र पैतलाको जोर्नी च्यातिने पनि समस्या बोकेर खेलाडी आउँछन्।
यी समस्या बोकेर खेलाडी अहिले चिकित्सा तथा अनुसन्धान केन्द्रमा आउने दर बढेको छ। केन्द्रमा उपचार हुन नसक्ने खेलाडीलाई सहज हुने अस्पतालमा रिफर गरिन्छ। अर्कोतर्फ अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न जानुअघि खेलाडीहरु अनुसन्धानमा अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ। सबै स्वास्थ्य परीक्षण गरेपछि केन्द्रले खेलाडीलाई मेडिकल पार्सपोर्ट प्रदान गर्छ।
‘अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानुअघि खेलाडीको स्वास्थ्य परीक्षण हुन्छ। औषधि सेवनको रेकर्डदेखि जनरल हेल्थ कन्डिसनको परीक्षण हुन्छ। खेलाडीलाई हुनसक्ने संक्रमण पनि जाँच गर्छौं। त्यसपछि हामी मेडिकल पार्सपोर्ट उपलब्ध गराउँछौं,’ उनले भने।
डा शाहका अनुसार पछिल्लो समय खेलाडीमा स्पोर्ट्स मेडिसिनबारे चासो बढेको छ। ‘पहिला परम्परागत रुपमा उपाचार थियो, अहिले स्पोर्ट्स मेडिसिनको विस्तार भएसँगै वैज्ञानिक ढंकबाट उपचार हुन्छ,’ डा शाह भन्छन्, ‘पछिल्लो समय खेलाडी सचेत हुन थालेका छन्। इन्टरनेटमा खोजेर जानकारी लिने मात्र होइन, विदेशको अनुभव सिक्न थालेका छन्।’
खाँचो खेलकुद अस्पतालको
राष्ट्रले खेलकुदलाई प्राथमिकतामा राख्न थालेको छ। सँगैसँगै खेलकुदमा लगानी पनि बढाइरहेको छ। तर खेलकुदसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र ‘स्पोर्ट्स मेडिसिन’ लाई ध्यान दिन सकेको छैन। राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्र अहिले खुम्चिएको अवस्थामा छ।
भूकम्पपछि केन्द्र ३ वटा कोठामा सीमित छ। जसमा एउटा कोठामा फिजियोथेरापी, एउटामा कार्यालय र अर्कोमा चेकअप रुम। जसले गर्दा खेलाडीको उपचार गर्न समस्या देखिएको छ। बजेट र जनशक्ति पनि सीमित हुँदा खेलाडीहरु अन्य अस्पतालमा जानुपर्ने बाध्यता छ। त्यसैले खेलाडीका लागि छुट्टै अस्पताल जरुरी भएको डा शाहको तर्क छ। ‘खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रबाहेक जाने स्थान छैन। खेलाडीलाई मात्र प्रत्यक्ष रुपमा उपचार गर्नका लागि स्पोर्ट्स मेडिसनसम्बन्धी अस्पताल हुन जरुरी छ जस्तो लाग्छ,’ डा शाह भन्छन्।