काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्वास्थ्यको दरबन्दी संशोधन गर्न पत्राचार गरेको छ।
मन्त्रीपरिषद् बैठकले ५ वटा अस्पताललाई संघ सरकार माताहत राख्ने निर्णय गरिसकेकाले स्वास्थ्यको दरबन्दीलाई संशोधन गर्नुपर्ने प्रस्तावसहितको फाइल स्वास्थ्यले सामान्यमा पठाएको हो।
सरकारले कोशी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रिय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रिय अस्पताललाई संघ माताहत राख्ने निर्णय गरेको थियो।
यसका साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि संघ अन्तर्गत नै रहनेछ।
संघमा थप अस्पताल राख्ने निर्णय भइसकेकाले त्यही अनुसार दरवन्दीको व्यवस्था गर्नुपर्ने प्रस्ताव सामान्यमा पठाइएको स्वास्थ्य सचिव डा पुष्पा चौधरीले जानकारी दिइन्।
सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले हालसम्म सरकारले दरवन्दी संशोधनका विषयमा कुनै निर्णय नगरेको बताए। उनले ११ औं तहका समायोजन भएका कर्मचारीलाई पत्र दिने विषयमा स्वास्थ्य सचिवलाई छलफलका लागि बोलाइएको जानकारी दिए।
‘हामीलाई अहिलेसम्म आएको निर्देशन अनुसार काम अगाडि बढाएका छौं,’ उनले भने, ‘सहसचिवहरुको समायोजनको पत्र दिने विषयमा स्वास्थ्य सचिवलाई छलफलका लागि बोलाएका छौं। उहाँसँगको छलफलपछि पत्र दिने काम अगाडि बढ्छ।’
उनले मन्त्रीपरिषद्बाट २१ गते पास भएको सहसचिवहरुको सूची अनुसार पत्र दिने काम अगाडि बढाइएको बताए।
सरकारले माघ २१ गते ६६२ सहसचिवको समायोजन गर्ने निर्णय लिएको थियो । तीमध्ये स्वास्थ्य सेवा अन्तर्गतका १ सय ५० जना कर्मचारी रहेका छन्।
नयाँ अस्पताल संघ माताहत आउने भएपछि स्वास्थ्यमा भएका उक्त दरबन्दीलाई संशोधन गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको भनाई छ।
सरकारले गरेको समायोजनका निर्णयमा सरकारी डाक्टरले विरोध गर्दै आएका छन्। सरकारी डाक्टरले आफूहरुमाथि अन्याए भएको भन्दै सेवा बन्द गर्नेदेखि सामूहिक राजिनामा दिनेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।