चितवन- भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराएका हुन्। 'मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताललाई मङ्गलबारदेखि 'भरतपुर विशिष्ट विशेषज्ञ अस्पताल'का रुपमा नामाकरण गरी सोहीबमोजिम कार्यान्वयन गर्नु भनी' पत्रमा उल्लेख गरिएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले अस्पतालको स्तरोन्नति भएको पत्र प्राप्त भएको जानकारी दिए। अब अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा सङ्घीय सरकारले उपलब्ध गराउनेछ। हाल अस्पतालमा सरकारले १ सय ५० श्यया सुविधा उपलब्ध गराएको छ। चार सय ५० श्यया विकास समितिमार्फत सञ्चालन गरिएको छ। अब केन्द्रीय सरकारबाटै ५०० श्ययाको सेवासुविधा प्राप्त हुने पौडेलले बताए।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा दैनिक एक हजार ५ सयकाे हाराहारीमा बिरामी उपचारका लागि आउने गर्छन्। चितवनसहित १२ जिल्लाका बिरामी उपचारका लागि नियमित आउने गरेको पौडेलले बताए। अस्पतालमा १३ विभागमार्फत बिरामीको उपचार गरिँदै आएको छ।