काठमाडौं- नेपाल मेडिकल काउन्सिलले पोखरास्थित गण्डकी मेडिकल कलेजको समस्या पहिचान गरी प्रतिवेदन पेश गर्न तीन सदस्यीय टोली खटाउने निर्णय गरेको छ।
काउन्सिलले सदस्यहरु डा विश्वराज दवाडी, डा कालु सिंह खत्री र डा सुनिलकुमार शाहलाई स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाउन खटाएको हो। टोलीले शुक्रबार र शनिवार मेडिकल कलेजमा पुगेर त्यहाँ देखिएको समस्या, विद्यार्थीहरुले आन्दोलन गर्नु परेको कारण लगायतका विषयमा अध्ययन गर्नेछन्।
कलेजले बढी शुल्क लिएको भन्दै लामो समयदेखि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि कक्षाकोठा, कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेका विद्यार्थीले मेडिकल कलेज परिसरमा रिले अनशन समेत गरेका छन्।
विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले तोकेको शुल्कमा पढ्न पाउनुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल, भौचर र रसिद उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले रु ४२ लाख ४५ हजार शुल्क तिर्नुपर्ने सरकारी नियम रहे पनि विद्यार्थीले रु ५५ लाखभन्दा बढी शुल्क तिर्नु परेको विद्यार्थी सुमित घिमिरेले बताए।
सन् २०१५ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै आन्दोलन गरेको उनले बताए।
कलेज प्रशासनले भने सरकारले तोकेको शुल्क नै लिँदै आएको जिकिर गरेको छ। हरेक वर्ष शुल्क तयार हुने भएकाले ३ वर्षअघिको शुल्क अहिले लागू नहुने र कानूनअनुसार नै शुल्क लिएको जिकिर कलेज प्रशासनको छ । विद्यार्थीको आन्दोलनलाई अनेरास्ववियु, विवेकशील साझा पार्टी लगायतले पनि समर्थन गरेका छन्।
